पाल्पा, रामपुर।
स्थानीय तहमा तथ्याङ्कीय ज्ञान अभिवृद्धि गरी नीति निर्माण, योजना तर्जुमा तथा विकास गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले रामपुर नगरपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
बुधबार तथ्याङ्क समन्वय कार्यालय पाल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले उत्पादन गरेका आर्थिक, सामाजिक, शैक्षिक तथा गरिबी अवस्थासम्बन्धी तथ्याङ्कबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत अवदेश कुमार शुक्लाले राष्ट्रिय अवस्था, पाल्पा जिल्ला तथा रामपुर नगरपालिकाको समग्र जनसाङ्ख्यिक अवस्थाबारे प्रस्तुति दिनुभयो। प्रस्तुतिमा जन्मदर, मृत्युदर, जनसंख्या वृद्धि दर, औसत आयु, जनघनत्व, आप्रवासन तथा बहिर्गमनको अवस्था जस्ता प्रमुख जनसाङ्ख्यिक सूचकहरूको तथ्याङ्कीय विश्लेषण गरिएको थियो।
अधिकृत शुक्लाले तथ्यमा आधारित योजना र नीति निर्माणले विकास गतिविधिलाई लक्षित, प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने बताउँदै स्थानीय तहले उपलब्ध तथ्याङ्कको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रामपुर नगरपालिकाको जनसांख्यिक संरचना, जनघनत्व तथा आप्रवासनको अवस्थाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा विशेष प्रभाव पार्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा रामपुर आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलले नगर तथा वडागत रूपमा जनसांख्यिक सूचकहरूको अवस्था स्पष्ट रूपमा प्रस्तुत गरिएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय तहको योजना निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तथ्याङ्क किन आवश्यक छ, यसको महत्व के हो तथा नीति निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पालिकास्तरका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन तथ्याङ्क समन्वय कार्यालय पाल्पाका सुपरिवेक्षक रामचन्द्र वाग्लेले गर्नुभएको थियो।



