पाल्पा — राष्ट्रिय सूचना आयोगले पाल्पाको रामपुरमा सूचनाको हक सम्बन्धी स्थानीयस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागितामा बुधबार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले सूचनाको हक सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था र यसको प्रयोगका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले दुःख दिने नियतले सूचना माग्ने प्रवृत्तिले सूचनाको हकको प्रयोगमा चुनौती सिर्जना गरेको बताउनुभयो। एउटै प्रयोजनका लागि मागिएको सूचनालाई अर्कै उद्देश्यमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले समस्या थपिएको उहाँको भनाइ थियो।
डा. आचार्यले प्राप्त सूचनाको गलत प्रयोग भएको पाइएमा आयोगले कानुनअनुसार कारबाही गर्दै आएको जानकारी गराउनुभयो। सूचना माग गर्दा स्पष्ट प्रयोजन खुलाएर निवेदन दिएमा कानुनले दिन मिल्ने सूचना सहज रूपमा उपलब्ध गराउन सकिने उहाँले उल्लेख गर्नुभयो। सूचनाको हक नागरिकको मौलिक अधिकार भएको स्मरण गराउँदै उहाँले सूचनादिने संस्कृतिको जगेर्ना गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।
लोकतन्त्रको सुन्दर पक्षका रूपमा सूचनाको हकलाई चित्रण गर्दै उहाँले रितपूर्वक माग गरिएका सूचना उपलब्ध गराउनु सूचना अधिकारीको कर्तव्य भएको स्पष्ट पार्नुभयो। कानुनअनुसार गोप्य राख्नुपर्ने सूचना बाहेक सार्वजनिक सरोकारका सबै सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै रितपूर्वक माग गरिएका सूचना नदिए सम्बन्धित पदाधिकारी वा सूचना अधिकारीलाई २५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको जानकारी गराउनुभयो।
कार्यक्रममा आयोगका आयुक्त गगन विष्टले सूचनाको हक नागरिकको मौलिक अधिकार मात्र नभई सार्वजनिक निकायको सुशासन, पारदर्शिता र जवाफदेहितासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। पारदर्शितालाई लोकतन्त्रको आत्मा भन्दै सार्वजनिक निकायलाई जिम्मेवार बनाउन आयोगले सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै आएको उहाँले बताउनुभयो।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सूचनाको सही सदुपयोग नहुँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै सूचनाको गलत प्रयोग गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। सही सूचना जनतामाझ नपुग्दा भ्रमको खेती बढ्दै गएको उहाँको भनाइ थियो।
यसैगरी, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले कार्यालयमा अधिकांश सूचना मौखिक रूपमा माग हुने गरेको जानकारी गराउनुभयो। सूचनाको हक प्रयोग गरी आउने धेरैजसो निवेदन इमेलमार्फत आउने गरेको बताउँदै व्यक्तिको नियत स्पष्ट नहुँदा कहिलेकाहीँ समस्या देखिने गरेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा रामपुर नगरपालिकाका सूचना अधिकारी युवराज पन्थी, आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेल, इन्जिनियर कृष्ण थापा, रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीलगायत सहभागीहरूले आ–आफ्ना जिज्ञासा राखेका थिए।
प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम आयुक्त गगन विष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन आयोगका उपसचिव सन्तोष कुमार दहालले गर्नुभएको थियो।






