रामपुर, बिहीबार — पतन्जली योग समिती रामपुर र महिला पतन्जली योग समितिको आयोजनामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस बिहीबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ। “योग गरौँ, स्वस्थ बनौँ; स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा योग, ध्यान, निन्द्रा व्यवस्थापन तथा स्वस्थ खानपिन सम्बन्धी व्यावहारिक अभ्यास र सचेतनामूलक सन्देश प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी योग साधकहरूलाई शारीरिक अभ्याससँगै मानसिक शुद्धता, मनको सफाइ, तनाव व्यवस्थापन तथा आत्मअनुशासनको महत्वबारे जानकारी गराइएको थियो। वक्ताहरूले आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा मानिसहरू मानसिक रूपमा थकित बन्दै गएको अवस्थामा योग र ध्यान जीवनको अभिन्न अंग बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सदस्य राजु प्रसाद श्रेष्ठले योग केवल व्यायाम मात्र नभई सम्पूर्ण जीवन पद्धति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “योगले शरीरलाई स्वस्थ बनाउनुका साथै मनको विकार, नकारात्मक सोच र तनावलाई हटाएर व्यक्तिलाई शान्त, अनुशासित र सकारात्मक बनाउँछ। स्वस्थ मन बिना समृद्ध समाज सम्भव छैन, त्यसैले योग आजको आवश्यकता हो।”
कार्यक्रमको अध्यक्षता गर्नुभएका रामपुर योग समितिका अध्यक्ष सुदिप गैरेले योगले मन, वचन र कर्मलाई शुद्ध बनाउने बताउनुभयो। उहाँले योग अभ्यासमार्फत मनको सफाइ हुने, आत्मचिन्तन बढ्ने र व्यक्तिमा नैतिक मूल्यको विकास हुने उल्लेख गर्दै योगलाई बिहानको नियमित दिनचर्यामा समावेश गर्न आग्रह गर्नुभयो।
वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको बताउनुभयो। उहाँले योगले व्यक्तिको सोचाइ सकारात्मक बनाउने, रिस, चिन्ता र असन्तुलित भावनालाई नियन्त्रणमा राख्न सहयोग गर्ने भन्दै योगलाई सामुदायिक तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यस्तै वडा नं. ७ का वडा अध्यक्ष एवं योग समिति रामपुरका उपाध्यक्ष दोबराज तिवारीले आधुनिक जीवनशैलीका कारण मानिसमा शारीरिक रोगसँगै मानसिक समस्या बढ्दै गएको बताउनुभयो। उहाँले योग, ध्यान र उचित खानपिनले मनको शुद्धता कायम राख्दै तनावमुक्त जीवन बिताउन सहयोग गर्ने उल्लेख गर्नुभयो।
रामपुर आयुर्वेदिक अस्पतालका प्रमुख चेवन प्रकाश पोखरेलले आयुर्वेद र योग एक–अर्काका पूरक रहेको बताउँदै नियमित योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउने, जीवनशैलीजन्य रोगहरूबाट बचाउने र मानसिक सन्तुलन कायम राख्ने जानकारी दिनुभयो। उहाँले मन शान्त भए मात्र शरीर पूर्ण रूपमा स्वस्थ रहने धारणा व्यक्त गर्नुभयो।
रामपुर महिला पतञ्जली योग समिति अध्यक्ष भगवती गौतमले महिलाको स्वास्थ्य र मानसिक सशक्तीकरणमा योगको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “योगले महिलालाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाउँछ। मनको सफाइ, आत्मविश्वास र धैर्य विकासका लागि योग सबै महिलाले अपनाउनुपर्ने अभ्यास हो।” उहाँले परिवारबाटै योग संस्कृतिको सुरुवात गर्न सकिने धारणा समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा योग, ध्यान र निन्द्रा व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो भने स्वस्थ खानपिन र जीवनशैली सुधारका उपायहरूबारे समेत जानकारी दिइएको थियो। कार्यक्रममा करिब ४५ जना योग साधकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सूर्य प्रसाद श्रेष्ठले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले मनको सफाइ, आत्मविश्वास वृद्धि र स्वस्थ जीवनशैली अपनाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।






