पाल्पा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन आयोगद्वारा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। यसै क्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ पाल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार रामपुरमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
कार्यालय उद्घाटन कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम अर्यालद्वारा सम्पन्न भएको हो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृतसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि तयार गरिएको कार्यतालिका सार्वजनिक गर्नुका साथै निर्वाचनसँग सम्बन्धित कर्मचारी तथा सरोकारवालाहरूका लागि सञ्चालन गरिने तालिम कार्यक्रमबारे समेत जानकारी गराइएको जनाइएको छ।
निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसै बिच आज नै पाल्पा क्षेत्र न २ अन्तरगत तानसेनमा पनि कार्यालय स्थापना भएको छ ।
आउदो फाल्गुण २१ लाई लक्ष्यित गरि कार्यालय स्थापना गरिएको हो ।





