रामपुरमा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ सम्पन्न, कवर्ड हल उद्घाटन

  २०८२-१०-०३

रामपुर ब्याडमिन्टन क्लब, रामपुरको आयोजनामा प्रथम रामपुर ब्याडमिन्टन कप २०८२ भव्य रूपमा उद्घाटन भएको छ। प्रतियोगिता रामपुर नगरपालिका खेलकुद विकास समितिको समन्वय तथा रामपुर नगरपालिकाको संरक्षणमा आयोजना गरिएको हो।

भेट्रान्स तथा ‘सी’ लेबल ब्याडमिन्टन प्रतियोगितासँगै नवनिर्मित कवर्ड हलको उद्घाटन गरिएको थियो।

उद्घाटन समारोहमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“खेलले अनुशासन, नेतृत्व र सकारात्मक सोचको विकास गर्छ। स्वस्थ नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन। त्यसैले नगरपालिकाले खेलकुद पूर्वाधार, कवर्ड हलजस्ता संरचना र खेलाडी उत्पादनमा निरन्तर लगानी गर्नेछ।”
नगर प्रमुख थापाले युवालाई कुलतबाट जोगाउन खेलकुद सबैभन्दा प्रभावकारी माध्यम भएको समेत उल्लेख गर्नुभयो।

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले खेल जीवनको अमूल्य अंग भएको बताउँदै भन्नुभयो,
“खेलकुदले शारीरिक स्फूर्ति मात्र होइन, मानसिक स्वास्थ्य र सामाजिक अनुशासन पनि मजबुत बनाउँछ। स्वस्थ समाज निर्माणका लागि खेल अपरिहार्य छ।”

त्यसैगरी, माथागढी गाउँपालिकाका प्रमुखले स्थानीय तहहरूबीचको सहकार्यले खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“स्थानीय सरकारको साझा प्रयास बिना खेलकुदको दीगो विकास सम्भव छैन। पालिकाहरू मिलेर यस्ता प्रतियोगिता आयोजना गर्दा प्रतिभा पहिचान र खेल संस्कृतिको विकास हुन्छ। “

रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले अघिल्लो कार्यकालदेखि सुरु भएको कवर्ड हल निर्माण कार्य बल्ल सम्पन्न भएको बताउँदै यसको दीर्घकालीन संरक्षण र सदुपयोगमा जोड दिनुभयो।

वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले करिब ५२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको कवर्ड हल प्रदेश, नगरपालिका र वडाको लगानिमा निर्माण भएको वडा गौरवको आयोजना भएको बताउनुभयो।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले खेलकुद मनोरञ्जन मात्र नभई भाइचारा र सद्भावको माध्यम भएको बताउँदै निर्माण गरिएको भवन सधैं खेल गतिविधिले भरिपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्नुभयो।

रामपुर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको उपस्थितिमा सम्पन्न कार्यक्रममा रामपुर ब्याडमिन्टन क्लबका अध्यक्ष विष्णु बहादुर सारुले अध्यक्षता गर्नुभएको थियो भने खेल संयोजक शंकर खाणले स्वागत मन्तव्य दिनुभएको थियो।

प्रतियोगितामा ६ जिल्लाका खेलाडीहरू सहभागी भएका थिए। भेट्रान्स तर्फ ४२ समूह र ‘सी’ लेबल ब्याडमिन्टन तर्फ ४० समूहको सहभागिता रहेको थियो। प्रतियोगिताको पहिलो खेल माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी र गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गा सारुको समूहबीच सम्पन्न भएको छ।कार्यक्रमको सञ्चालन सचिव खिम बहादुर केसिले गर्नुभएको थियो।