आगामी निर्वाचनका लागि सर्वदलीय बैठक सम्पन्न

बोली खबर   २०८२-१०-०६

पाल्पा,  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै पाल्पामा चुनावी चहल पहल सुरु भएको छ । निर्वाचन आयोगले जिल्लाका दुईवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तयारीलाई तिव्रता दिएको हो ।

आइतबार क्षेत्र नं. १ को रामपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सर्वपक्षीय छलफल भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले निर्वाचनलाई जसरी पनि सफल बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आचारसंहिता पालन गर्दै चुनावलाई व्यवस्थित, मर्यादित र कम खर्चमा सम्पन्न गर्नपर्नेमा जोड दिनुभयोनिर्वाचन अधिकृत दशरथ पंगेनीको संयोजनमा आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दलका प्रतिनिधि, जनप्रतिनिधि र सञ्चारकर्मीहरू विच छलफल भएको हो ।

चुनाव प्रक्रिया शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल र नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको भन्दै पंगेनीले सबै पक्षलाई सहयोगका लागि आह्वान गर्नुभयो । उहाँले मंगलबार हुने उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया व्यवस्थित रुपमा सम्पन्न गर्न आपसी सहमति र सहकार्यको आवश्यता रहेको बताउनुभयो ।यसका साथै, उनले निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता पालनाका लागि सबैलाई सचेत गराउँदै सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रमको सञ्चालन मदन पराजुलीले गर्नु भएको थियो । निर्वाचन आयोग र अन्य सरोकारवाला पक्षहरूले आगामी चुनावलाई शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष बनाउन संयुक्त प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्