पाल्पा । पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार नारायण प्रसाद आचार्यले मनोनयन दर्ता गराउनुभएको छ। उहाँले रामपुर नगरपालिका–५ बेझाडस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।
मनोनयन दर्ताका क्रममा एमालेका जिल्ला, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। नेता–कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका आचार्यले निर्वाचन कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै उम्मेदवारी दर्ता गराउनुभयो।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उम्मेदवार आचार्यले अघिल्लो प्रतिनिधिसभा विघटनका कारण पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभयो। प्रतिनिधिसभा विघटनका कारण रोकिएका तथा अधुरा रहेका विकास निर्माणका काम र योजनाहरू पुनः निर्वाचित भएपछि अनिवार्य रूपमा पूरा गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
आचार्यले पाल्पा क्षेत्र नं. १ का विभिन्न स्थानमा सुरु भए पनि अधुरा रहेका सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। उहाँका अनुसार जनताले दिएको जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भएमा अधुरा योजनाहरू सम्पन्न गरेर देखाइनेछ।

एमालेका नेता तथा कार्यकर्ताहरूले नारायण आचार्य अनुभवी, विकासप्रेमी र जनतासँग नजिक रहेको उम्मेदवार भएको दाबी गरेका छन्। उनीहरूले पार्टी संगठन बलियो रहेको र जनताको समर्थन व्यापक रहेको भन्दै निर्वाचनमा विजय हासिल हुने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालय रामपुरमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै पाल्पा क्षेत्र नं. १ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको गतिविधि बढेसँगै क्षेत्र राजनीतिक रूपमा चलायमान बनेको देखिन्छ।

स्थानीय मतदाताहरूले यसपटक विकासको निरन्तरता, अधुरा योजनाको सम्पन्नता तथा जनउत्तरदायी प्रतिनिधिलाई आधार मानेर मतदान गर्ने अपेक्षा गरेका छन्। राजनीतिक विश्लेषकहरूले पाल्पा क्षेत्र नं. १ को निर्वाचन परिणामले जिल्लाको राजनीतिक समीकरण र आगामी विकासको दिशामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरेका छन्।
मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै उम्मेदवार आचार्यसहित अन्य उम्मेदवारहरू पनि अब चुनावी प्रचार–प्रसार र मतदाता भेटघाट कार्यक्रमलाई थप तीव्र बनाउने तयारीमा जुटेका छन्।
उम्मेदवार आचार्यले आगामी निर्वाचनमा उठाइएका सवाल र मुद्दाहरूलाई आत्मसात गर्दै व्यवस्थापन गर्ने तयारी भएको बताए। देशमा देखिएका विभिन्न असन्तुलन र समस्या समाधान गर्न संविधान संशोधन गर्दै समयअनुकूल सुधार गर्ने उद्देश्य रहेको उनले बताए।
नयाँ पुस्ताका युवा दाजुभाइ तथा दिदीबहिनीहरूले उठाएका समृद्धि, सुशासन र विकाससम्बन्धी विषयवस्तुहरूलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। नेकपा एमालेले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने आकांक्षा पूरा गर्न निरन्तर लागिरहेको बताइएको छ।
विशेष गरी कालीगण्डकी करिडोर, रामपुर-अरूणखोला, रामपुर-अर्याभज्याङ्ग र माथागढी- बासटारी रिङ रोड लगायतका मोटरबाटो क्षेत्रमा विकास आयोजनाहरूलाई निरन्तरता दिइनेछ। कालीगण्डकी लिफ्ट सिँचाइ आयोजना, रामपुर बृहत् सिँचाइ आयोजना, माडीको ट्युबवेल तथा बोरिङ योजनाहरू प्रभावकारी रूपमा अघि बढाइनेछ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष जोड दिइएको छ। रामपुरको ५० शय्याको अस्पताल व्यवस्थित रूपमा सञ्चालन गर्दै सेवा विस्तार गरिनेछ। साथै निश्चित प्रकोप प्रभावित क्षेत्र, निस्दी, माथागढी र रम्भाका १५ शय्याका अस्पतालहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
पछाडि परेका समुदायलाई आत्मनिर्भर बनाउँदै देशलाई स्वतन्त्र, सक्षम र जनताको भरोसा भएको मुलुकका रूपमा स्थापना गर्ने लक्ष्य राखिएको छ। “यो देशमा केही हुँदैन” भन्ने निराश सोचलाई हटाएर “यो देशमा धेरै सम्भावना छन्” भन्ने विश्वास निर्माण गर्ने दिशामा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आह्वान उहाँले गर्नुभयो।


