पाल्पा-१ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी: परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा

बोली खबर   २०८२-१०-०७

पाल्पा । प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट सन्दीप रानाको उमेदवारी दर्ता भएको छ। लामो समयदेखि एमालेको पकड मानिँदै आएको यस क्षेत्रमा यसपटक परिवर्तनको बलियो सन्देशसहित काङ्ग्रेस उम्मेदवार राना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पाल्पा क्षेत्र नं. १ मा हालसम्म सम्पन्न प्रतिनिधि सभाको निर्वाचनहरूमा अधिकांश समय एमालेले जित हासिल गर्दै आएको इतिहास छ। तर यसपटक जनताको बढ्दो असन्तुष्टि, विकासको अपेक्षा र नयाँ राजनीतिक सोचका कारण चुनावी समीकरण परिवर्तनतर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

रानाले आफ्नो उमेदवारी जेन्जी (Gen Z) आन्दोलनको माग र आवाजअनुसार अघि सारिएको बताउँदै युवाको सहभागिता, पारदर्शी शासन र आधुनिक विकास मोडेललाई प्राथमिकतामा राख्ने प्रतिवद्धता राख्नु भएको छ । रानाले, “आजको पुस्ता रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र सुशासन चाहन्छ। मेरो उमेदवारी यही चाहनाको प्रतिनिधित्व हो।”

रानाले आफ्नो चुनावी एजेन्डा क्षेत्रको समग्र विकास मा केन्द्रित रहने स्पष्ट पारेका छन्। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्ने उनको भनाइ छ। साथै, पाल्पालाई आर्थिक गतिविधिको केन्द्र बनाउने दीर्घकालीन योजना समेत अघि सारिएको छ।

उनले विगत ३५ वर्षदेखि एउटै राजनीतिक सोच र नेतृत्वको वर्चस्वले क्षेत्रको अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै अब समय परिवर्तनको भएको बताए। “३५ वर्षसम्म एउटै विचारधाराले जकडिएको संरचनामा परिवर्तन आवश्यक छ। नयाँ सोच, नयाँ नेतृत्व र नयाँ कार्यशैली बिना पाल्पाको दिगो विकास सम्भव छैन,” रानाले जोड दिनुभयो।

स्थानीय युवा, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि रानाको उमेदवारीलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार युवामैत्री नीति, प्रविधिमैत्री सेवा र पारदर्शी प्रशासन अहिलेको मुख्य आवश्यकता हो, जसलाई रानाले आफ्नो घोषणापत्रमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नं. १ का नेताहरूले पनि यसपटक चुनावी परिणाम आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार जनताको चाहना र परिवर्तनको लहरसँगै काङ्ग्रेस उम्मेदवारले बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
आगामी दिनमा सन्दीप रानाले घरदैलो अभियान, जनसभा तथा अन्तरक्रियामार्फत आफ्ना एजेन्डा जनतासमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्। पाल्पा क्षेत्र नं. १ मा यसपटकको निर्वाचनलाई परिवर्तन र विकासको निर्णायक मोडका रूपमा हेरिएको छ।