आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ९ जना राजनीतिक दलबाट र ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
राजनीतिक दलतर्फ नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वृहस्पति अर्याल, र राष्ट्रिय जनमोर्चा पार्टीबाट नरमती सिंजाली उम्मेदवार रहेका छन्।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट सलन चिदी, नेशनल रिपब्लिक पार्टीबाट थमन सिंह रेस्मी मगर र नेकपा माओवादीबाट पुरन गैह्रे शर्मा गैरे ले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्रतर्फ डिल्ली राज काफ्ले, कोशल अर्याल, युद्धबहादुर विरकट्टा र वाछा दली मिया उम्मेदवार रहेका छन्।
उक्त जानकारी रामपुरस्थित प्रतिनिधिसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ पंगेनी ले दिनुभएको हो।
विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सञ्चालन भएको थियो। यस क्रममा विभिन्न राजनीतिक दलहरू आफ्ना कार्यकर्ता तथा समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
जिल्लामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन् भने क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ मतदाता छन्।
उम्मेदवारी दर्ताअघि नेकपा एमालेले रामपुरमा पञ्चेबाजा सहित बेझाँड बजारदेखि स्कुलरोड हुँदै नगरपालिकाको माथिल्लो गेटसम्म र्याली निकालेको थियो।
त्यस्तै नेपाली कांग्रेसले नहर अफिसबाट बेझाँड चोक, बाङ्गेरोड, इलाका प्रहरी कार्यालय हुँदै स्कुलरोड र नगरपालिकाको तल्लो गेटसम्म पञ्चेबाजा तथा सांस्कृतिक झाँकीसहित र्याली निकालेको थियो।
मनोनयन दर्तापछि नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य ले संविधान र राष्ट्रियताको रक्षा, विकास निर्माण, स्वदेशमै रोजगारी सिर्जना तथा नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्ने कानुन निर्माणका लागि उम्मेदवारी दिएको बताउनुभयो।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना ले क्षेत्र नं. १ को विकास, युवालाई स्वरोजगार, कालीगण्डकी सभ्यताको संरक्षण तथा नयाँ पुस्ताको आवाज संसदमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभयो।






