पूर्व विद्यार्थीको सहयोगमा बहुप्राविधिक शिक्षालयमा सरस्वती पूजा सम्पन्न

बोलीखबर   २०८२-१०-१०

स्याङ्जा, चापाकोट।
आज सरस्वती पूजाको अवसरमा चापाकोट बहुप्राविधिक शिक्षालय, स्याङ्जामा भजन–कीर्तन तथा पूजा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमका लागि यस शिक्षालयका पूर्व विद्यार्थीहरू—यहाँ पशु विज्ञान अध्ययन गरी हाल डेनमार्कमा ओजेटी (On the Job Training) का लागि गएका सचिन घिमिरे, प्रवेश भण्डारी र सन्देश श्रेष्ठले भजन–कीर्तन तथा पूजाको सम्पूर्ण खर्च सहयोगस्वरूप प्रदान गर्नुभएको हो।

विद्या, बुद्धि र सिर्जनात्मकताको प्रतीक देवी सरस्वतीको पूजाका अवसरमा आयोजना गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै कार्यालय प्रमुख शिव पाण्डेले हाल शिक्षालयमा पशु विज्ञान, कृषि लगायतका प्राविधिक धारका विषयहरू अध्यापन गराइँदै आएको जानकारी दिनुभयो। साथै, पूर्व विद्यार्थीहरूको यस्ता सहयोगले शैक्षिक संस्था र विद्यार्थीबीचको सम्बन्ध अझ बलियो बनाउने बताउनुभयो।