होम राई मगर
पाल्पा / १३ पौष । निस्दी गाउँपालिका पाल्पामा संचालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अंशुवर्मा माध्यमिक विद्यालय निस्दी-२, सहलकोटले हात पारेको छ ।
निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अंशुवर्मा माविले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी दोस्रो स्थानमा रहेको गौरीशंकर माध्यमिक विद्यालय निस्दी-४,मित्यालले ४ स्वर्ण, १ रजत र ८ कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी जनता माध्यमिक विद्यालय निस्दी-५,गल्धाले ३ स्वर्ण, १ रजत र ३ कास्य सहित तेस्रो स्थान प्राप्त गरेका थिए ।
प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । छात्र ९ र छात्रा ९ विधा गरि जम्मा १८ विधा समाबेश रहेको प्रतियोगितामा निस्दीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
पौष १० गते देखि सन्चालन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले एक कार्यक्रमका बिच पुरस्कार वितरण गर्नुभएको हो ।
मुल आयोजक समितिका अध्यक्ष समेत रहनु भएका अध्यक्ष सारुले खेलकुदको माध्यमबाट आफ्नो गाउँ-ठाउँ र राष्ट्रका लागि योगदान पुर्याएको चर्चा गर्नुभएको थियो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाउने समेत बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले खेलकुदको संरक्षणले स्थानीय स्तरका खेलाडीहरुमा वृद्धि र बिकासमा सहयोग पुग्नेमा जोड दिनुभयो ।
यसैबीच बालमैत्री शाखाको आयोजनामा सन्चालन भएको आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा जीवनज्योति आधारभूत विद्यालयका सुवेच्छा सोतीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी जनप्रिय मावि ज्यामिरेका तिर्सना गाहा द्वितीय र सिन्दुर आधारभूत विद्यालय अर्चलेका खुशी दर्लामी तृतीय भएका थिए ।
सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।


