प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा सर्वदलीय बैठक सम्पन्न

बोली खबर   २०८२-१०-१४

– पाल्पा क्षेत्र नं. १ प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पङ्गेनीको अध्यक्षतामा भएको थियो।

बैठकमा मुख्य निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताबारे विस्तृत जानकारी दिँदै दलहरूले गर्न नहुने व्यवहार स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,

“निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबैको सहयोग आवश्यक छ। दलहरूले सरकारी साधन र स्रोतको दुरुपयोग गर्नु हुँदैन। मतदातालाई प्रलोभन, धम्की वा भ्रामक जानकारी दिनु, जात, धर्म, क्षेत्र वा समुदायको आधारमा मत माग्नु, सामाजिक सञ्जालमा झुट्टा समाचार फैलाउनु वा चुनावी माहोललाई अस्थिर बनाउने कुनै पनि गतिविधि गर्नु हुँदैन।”


बैठकमा प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवरले भन्नुभयो,“निर्वाचनको शान्ति र निष्पक्षता कायम गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छ। आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कडा कारबाही हुनेछ।”

रामपुर नगरपालिका नगर प्रमुख थापाले “स्थानीय सरकार निर्वाचन सफल बनाउन सुरक्षा निकाय र प्रशासनसँग निरन्तर समन्वय गरेर अघि बढ्छ। सबै दल र नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्छ।”भन्नू भएको छ ।

प्रहरी प्रमुख दिपेन्द्र परीयारले जानकारी दिनुभयो,“संवेदनशील स्थानहरूमा सुरक्षा सतर्कता बढाइएको छ। कुनै पनि अवाञ्छित गतिविधि सह्य हुनेछैन।”त्यस्तो गतिविधि गरेको थाहा पाए शान्ति सुरक्षामा खलबल भएमा सम्पर्क गर्न अनुरोध समेत गर्नु भएको छ ।


बैठकको सञ्चालन कर्मचारी मदन पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उपस्थित दलका प्रतिनिधिहरूले आचारसंहिता उल्लङ्घन, कारबाही, उजुरी प्रक्रिया र निगरानी प्रणालीका विषयमा अन्तरक्रिया गरेका थिए। यस अन्तरक्रियामा सबैले प्रचारप्रसार मर्यादित राख्ने, निर्वाचनको वातावरण भयरहित राख्ने र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आपसी सहकार्य आवश्यक रहेकोमा सहमति जनाएका थिए।

बैठकमा सहभागी सबैले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र सर्वसाधारणको साझा सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरुको तर्फ बाट राजनितिक दलका प्रतिनिधि नेपाली कांग्रेसका क्षेत्र नं. १ प्रदेश क का सभापति राम बहादुर राना, नेकपा एमालेका प्रतिनिधि राधिका भण्डारी, नेकपाका फणेश्वर गौतम, भिमविश्व भट्टराई, राष्ट्रिय जनमोर्चाका राम प्रसाद गैह्रे, नेकपा माओवादीका उम्मेद्वार पुरन शर्मा गैह्रे, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार सलन चिदी लगायतले राखेको जिज्ञाशा निर्बाचन अधिकृत दशरथ पंगेनीले मेटाउनु भएको थियो ।
पाल्पामा २ लाख ७ हजार ४ सय ३६ कुल मतदाता मध्ये क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ११७ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन आचारसंहिता उल्लङ्घन, गुनासो वा जानकारीका लागि टोल–फ्री नम्बर ११०२ प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।