पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ५ मा महिला अधिकार तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नम्बर ५ को आयोजना तथा महिला समन्वय समितिको सहआयोजनामा सुरु भएको उक्त तालिममा महिलालाई आफ्ना संवैधानिक अधिकार, कानुनी व्यवस्था तथा लैङ्गिक र महिला हिंसासम्बन्धी विषयमा सचेत बनाउने उद्देश्य राखिएको छ ।
तालिममा नेपाल सरकारको संविधानमा महिलाका लागि सुनिश्चित गरिएका अधिकार, समानता, न्यायमा पहुँच, घरेलु तथा लैङ्गिक हिंसाका प्रकार, त्यसबाट बच्ने उपाय तथा उजुरी प्रक्रिया लगायतका विषयमा सहभागी महिलालाई जानकारी गराइएको छ । तालिममार्फत महिलालाई आत्मनिर्भर, सचेत र सशक्त बनाउँदै परिवार र समाजमा हुने हिंसा तथा विभेद न्यूनीकरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
तालिममा रामपुर नगरपालिका वडा नम्बर ५ भित्र रहेका २५ वटा महिला समूहका सदस्य तथा वडाका प्रतिनिधिमूलक महिलासहित उल्लेख्य सहभागिता रहेको छ । सहभागी महिलाहरूले तालिमलाई अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
तालिमका सहजीकरणकर्ताहरूमा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य सीता डोटेल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल तथा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनार रहनुभएको छ । उहाँहरूले महिला अधिकार, सञ्चार माध्यमको भूमिका, हिंसा विरुद्ध कानुनी प्रक्रिया तथा प्रहरीबाट उपलब्ध हुने सेवाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले महिलाहरू कानुनी रूपमा सचेत भएमा समाजमा हुने हिंसा, अन्याय र विभेद न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला आफैं आफ्नो अधिकारबारे जानकार र सचेत भएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । त्यसका लागि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्न आवश्यक छ ।”
वडा सदस्य माया नेपालीले महिलाको सशक्तीकरण बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताउँदै महिलालाई लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले महिलाले पाउने अधिकार व्यवहारमा लागू हुन सके मात्र समाजमा वास्तविक परिवर्तन देखिने धारणा राख्नुभयो ।
तालिममा सहभागी नारायण तिवारीले महिलालाई कानुनी सचेतना प्रदान गर्दा परिवार तथा समाज दुवैमा सकारात्मक सोचको विकास हुने बताउनुभयो । त्यस्तै सहभागी पार्वती न्यौपानेले तालिमबाट महिला अधिकार, हिंसाविरुद्ध अपनाउन सकिने कानुनी उपाय र उजुरी प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर र सबै वडामा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमको अध्यक्षता महिला समन्वय समितिकी अध्यक्ष सरस्वती सोमैले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव बिन्दु श्रेष्ठले गर्नुभएको थियो भने समापन समारोहमा महिला समन्वय समितिकी उपाध्यक्ष चलकुमारी थापाले धन्यवाद ज्ञापन गर्दै तालिम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।





