माघ १६ ।
पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको क्याम्पस सभा तथा ३४ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न भएको छ । पूर्वी पाल्पा संगै कालीगण्डकी वेशी क्षेत्रको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले शुक्रबार क्याम्पस सभा संगै वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्याम्पस सभा तथा वार्षिकोत्सव कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले समुदायले सञ्चालन गरेको शहीद बहुमुखी क्याम्पस पूर्बी पाल्पाको मात्र नभएर गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ र नवलपुरको लागी पनि गौरव गर्न लायक क्याम्पस रहेको बताउनुभयो ।

समग्र कालीगण्डकी उपत्यकाको विकास गर्दै रामपुरलाई केन्द्रको रूपमा विकाश गर्नुपर्ने बताउनुभयो । जनता, राजनीतिक दल, जनप्रतिनिधि सबै एकसाथ अगाडी बढ्याे भने रामपुरलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्न सकिने बताउनुभयो । सभापति श्रेष्ठले क्याम्पसमा छात्रबास निर्माणको लागी गतवर्ष लुम्बिनी प्रदेश सरकारले २० लाख बजेट बिनियोजन गरेर अब कार्यान्वयनको चरणमा रहेको बताउनुभयोक्याम्पसले विद्यार्थीहरुको सहजताका लागी बस खरिद गर्ने योजना रहेकोको र सहयोगका लागी आफुले आवश्यक पहल गर्ने बताउनुभयो ।उहाँले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षामा लगानी बढे पनि अधिकांश युवाहरु उच्च शिक्षाका लागि विदेशिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै कालीगण्डकी वेशी क्षेत्र मात्र नभै यस क्षेत्रका
ग्रामीण भेगका जनतालाई उच्च शिक्षा ग्रहणको लागि
क्यम्पसले महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो । शहीद बहुमुखी क्याम्पस रामपुरको मात्र नभएर कालीगण्डकी बेशीको गौरव गर्न लायक संस्था रहेको बताउनुभयो ।
नगरप्रमुख थापाले बोल्दै रामपुर नगरपालिकाले शहीद बहुमुखी क्याम्पसमा आफू निर्वाचित भएर आएपछी २ करोड भन्दा बढी आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले महायज्ञमा ५० लाख सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार काम भैरहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नगरपालिकाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको समेत बताउनुभयो ।
रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले क्याम्पसले महिलाहरुको शैक्षिक स्तर वृद्धिका लागि अघि बढ्ने प्रेरित गरेको बताउनुभयो ।
क्याम्पसका संस्थापक एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देबराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष अशोक श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी रामपुरका सह-संयाेजक लक्ष्मी ढकाल, राष्ट्रिय जनमोर्चा रामपुरका प्रतिनिधि पदम बहादुर पौडेल, रामतुलसी माद्यामिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, पृथ्वी टेलिभिजन रामपुरका स्टेशन प्रबन्धक कृष्ण प्रसाद पौडेल, शहीद बहुमुखी क्याम्पस प्राध्यापक संघका एकाई सभापति सारदा प्रसाद पाण्डेले शुभकामना मन्तव्य दिनुभएको थियो ।त्यसैगरी शहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्वबियु सभापति राजन गौतम ,अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मनिष आचार्य,नेपाल विद्यार्थी संघ क्याम्पस एकाई समिति सभापती आकाश भट्टराई,अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष विमल क्षेत्री लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसका अध्यक्ष रामप्रसाद ढकालले प्राविधिक शिक्षा, संकाय थप गर्ने र छात्रवास निर्माण गर्ने महायज्ञको उदेश्य अनुरुप कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । सरोकारवालाहरुको सुझाव अनुरूप कार्यक्रम तथा योजनालाई अघि बढाउने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष यम बहादुर सुनारले आर्थिक बर्ष २०८१/०८२ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै ३ करोड ७१ लाख ८९ हजार ५५७ रुपैयाँ अठासी रुपैयाँ बराबरको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पसको समग्र गतिविधिका विषयमा क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिनुभयो । जिल्ला मात्र नभै शहीदले क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहजताको लागि थप विषय सञ्चालनको तयारी क्यम्पसले गरिरहेको बताउनुभयो । कार्यक्रममा वार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको विभिन्न विधामा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो ।
कार्यक्रमको अवसरका स्नातकोत्तर तहमा २०८० सालबाट २०८२ सालसम्म पास हुने ६७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।त्यसैगरी क्याम्पसमा स्थापना भएको विभिन्न अक्षयकोषबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद रकम सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
क्याम्पस प्राङ्गणमा भएको कार्यक्रम उपाध्यक्ष सुकदेब पोखरेलले स्वागत बाट सुरु भएको कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष राम प्रसाद ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रमको संचालन प्राध्यापक सुर्यप्रसाद घिमिरे, ध्रुव प्रसाद पोखरेल र अशोक ढुङ्गानाले गर्नु भएको हो । २०४८ सालमा स्थापना भएको क्याम्पसमा अहिले स्नातकोत्तर तहसम्म शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन भैरहेको छ भने स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भैरहेको छ । क्याम्पसमा अहिले ७५७ जना विद्यार्थी अध्ययनरत रहेको र जसमा स्नातक तहमा ६७४ र स्नातकोत्तर तहमा ८३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।







