पाल्पा, २४ माघ — प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा तथा डिजिटल पत्रकारिता क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले परम्परागत पत्रकारिता दिनहुँ संकटमा पर्दै गएको भन्दै समयअनुसार पत्रकारहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनुपर्नेमा जोड दिनु भएको छ। उहाँले तालिम, सहकर्मीबाट सिकाइ वा एआई प्रविधिको प्रयोगमार्फत पत्रकारहरूले आफूलाई अद्यावधिक गर्नुपर्ने बताउनु भएको छ ।
आचार्यले पछिल्लो समय व्यक्तिले अनलाइन माध्यम सञ्चालन गरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता नगरी पेशालाई दुरुपयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्तो प्रवृत्तिविरुद्ध सचेत हुन आग्रह गर्नु भयो । प्रेस चौतारी पाल्पा शाखाले साधारणसभा अभियान सञ्चालन गर्नुका साथै नमुना कार्यहरू गर्दै आएको भन्दै प्रशंसा गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पा इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले देश संविधानबाहिरबाट सञ्चालन भइरहेको दाबी गर्दै मुलुकलाई संविधानको दायरामा ल्याउन र जोगाउन एमाले उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रियता कमजोर बनाउने र विदेशी प्रभाव बढाउने गतिविधिविरुद्ध जनताले सचेत हुनुपर्ने धारणा राख्नु भएको थियो ।
नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती चिदीले पत्रकारहरूले सत्य, तथ्य र निष्पक्ष रूपमा समाचार लेख्नुपर्नेमा जोड दिनु भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सामाजिक सञ्जालमा मिथ्या समाचारको बाढी आएको उल्लेख गर्दै सही र गलत छुट्याउन पत्रकारिता संस्थाहरूले पहल गर्नुपर्ने बताउनु भएको छ।
कार्यक्रममा एमाले उपाध्यक्ष विमल काफ्ले, जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज टीकाबहादुर बस्नेत, पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, प्रदेश सचिव कृष्ण पोखरेल लगायतले प्रेस चौतारीको भूमिका र डिजिटल पत्रकारिताको अवस्थाबारे धारणा राख्नु भएको थियो।
साधारणसभामा सहसचिव विजय वौडेलले चौतारी कल्याणकोषको मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। उक्त मस्यौदाअनुसार चौतारीकर्मीको परिवारका सदस्यको निधन हुँदा २० हजार रुपैयाँसम्म सहयोग, आपतकालीन अवस्थामा एक महिनासम्म विनाब्याज १ लाख रुपैयाँ ऋण, दीर्घरोग लागेमा सहयोग तथा प्रविधि उपकरणका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। सचिव दयाराज न्यौपानेले सांगठनिक र कोषाध्यक्ष नेत्र गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
डिजिटल पत्रकारिता तालिममा एआई विज्ञ तथा गोरखापत्रका उपसम्पादक अजय शर्माले पत्रकारितामा एआईको प्रयोगबारे व्यवहारिक अभ्यास गराउनु भएको थियो। एआईले पत्रकारितालाई छिटो, छरितो र सहज बनाएको उनले बताए। कार्यक्रम प्रेस चौतारी पाल्पाका उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।






