पाल्पा ।
पाल्पा जिल्लाका २२७ विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गर्दै क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। माघ २५ गतेबाट सुरु भएको अभियान फागुन २ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
जिल्लाभर सञ्चालन गरिएको अभियान अन्तर्गत पूर्वखोलामा ११०, निस्दीमा १४५, रम्भामा १२५, बगनासकालीमा ९०, तानसेनमा ४८५, रिब्दीकोटमा १११, रैनादेवी छहरामा २०९, तिनाउमा १६९ र माथागढीमा १९१ जना छात्राले खोप लगाउने छन्। तस्तै रामपुर नगरपालिकामा ४०८ जना छात्राले खोप लगाउने छन्। यसरी जिल्लाभरि कुल २ हजार ४३ जना छात्रालाई क्यान्सरविरुद्धको खोप लगाइनेछ।
अभियानलाई प्रभावकारी बनाउन संस्थागत विद्यालयमा ३१ वटा खोप केन्द्र र सामुदायिक विद्यालयमा १९६ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन्। प्रत्येक विद्यालयमै पुगेर छात्राहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
यसैबीच पाल्पा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समिति संयोजक टंकनाथ खनाल, जिल्ला समन्वय सूचना अधिकारी लेखनाथ अर्याल, रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरीराज पराजुली तथा रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललगायतले आज खोप अभियानको अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा सरोकारवालाहरुले खोप अभियानलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिनु भएको छ । छात्राहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै अभियान सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको छ।





