बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-१०-२८

पृथ थापा मगर पाल्पा ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिका–७ रहबास, अखरिगौडास्थित श्री बतास चुली देवी प्राथमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

श्री बतास चुली देवी प्राथमिक विद्यालयको आयोजनामा, माथागढी गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) होम प्रकाश चौधरीले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिनुहुँदै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी तथा डिजिटल जोखिमबाट जोगिने उपायबारे जानकारी गराउनुभयो। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.व.ना.नि.) खेमानन्द पंगेनीले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिँदै सडक दुर्घटना न्यूनीकरणका उपाय, पैदलयात्री तथा सवारी चालकले अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले साइबर सुरक्षा र सडक सुरक्षाबारे समयमै सचेत हुन पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत हुने विभिन्न ठगी, प्रलोभन तथा सडक दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षित रहनेबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरी र विशिष्ट अतिथिका रूपमा प्रहरी वरिष्ठ नायव निरीक्षक खेमानन्द पंगेनीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयकी शिक्षिका बुद्धि माया सिंहले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक हुमबहादुर सिं मगरले गर्नुभएको थियो।