पाल्पा
पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० मा समुद्री सतहबाट करिब ४५० मिटर उचाइमा फैलिएको हरियो बगैंचाले यतिबेला सबैको ध्यान तानेको छ। कागतीको हरियाली, सुन्तलाको पहेँलो चमक, आँप र लिचीका लहराबीच आत्मनिर्भर जीवनको सुन्दर कथा लेखिरहेका छन् ६१ वर्षीय कृषक जनार्दन पन्त।
करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको उहाँको व्यावसायिक बगैंचामा कागती, सुन्तला, आँप, लिची र बेलौती फलिरहेका छन्। निरन्तर श्रम, अनुभव र माटोसँगको आत्मीय सम्बन्धले पन्तलाई आज सफल कृषकको पहिचान दिलाएको छ।
सोखबाट व्यवसायसम्म
पन्तले कृषि यात्रा परम्परागत अन्नबालीबाट सुरु गरेका थिए। सुरुमा सोखका रूपमा केही फलफूलका बिरुवा रोपेका उहाँले पछि यसको व्यावसायिक सम्भावना देख्नुभयो।
“हाम्रो माटो र हावापानी फलफूलका लागि निकै उपयुक्त रहेछ,” पन्त भन्छन्, “सही बाली छान्न सके आम्दानी राम्रो हुन्छ भन्ने बुझेर विस्तारै बगैंचा बढाएँ।”
उहाँले ग्राफ्टिङ्ग (कलमी) बिरुवाबाट खेती सुरु गर्नुभएको थियो। जसले छिटो उत्पादन र राम्रो गुणस्तर दिन सहयोग गर्यो। सानो क्षेत्रबाट सुरु भएको खेती आज ५० रोपनीमा विस्तार भई परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।
वर्षैभरि आम्दानी
पन्तको बगैंचाको मुख्य विशेषता वर्षैभरि आम्दानी हुनु हो। कागती बार्हमास फल्ने भएकाले नियमित नगद आम्दानी हुन्छ।
“कागतीले दैनिक खर्च चलाइदिन्छ,” उहाँ भन्छन्।
यस वर्ष मात्र उहाँले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ। आँप र लिची भैरहवा लगायतका बजारसम्म पुग्ने गरेका छन्। बजार खोज्दै हिँड्नुपर्दैन—ग्राहक आफैं घरमै आउने गर्छन्।
गुणस्तरले बजार जित्दै
रासायनिक विषादीको न्यून प्रयोग, समयमै स्याहार–सम्भार र प्राकृतिक विधिमा आधारित खेतीले उहाँका उत्पादनलाई बजारमा अलग पहिचान दिएको छ।
“एक पटक किनेपछि ग्राहक फेरि खोज्दै आउँछन्,” पन्त गर्वका साथ भन्छन्।
उमेरसँगै बढ्दो सक्रियता
६१ वर्षको उमेरमा पनि पन्त बिहान सबेरै बगैंचामा पुगेर रूखको अवस्था हेर्ने, सिँचाइ गर्ने र रोग नियन्त्रण गर्ने काममा सक्रिय रहन्छन्।
“खेतीसँग दूरी बढायो भने उत्पादन घट्छ,” उहाँको अनुभवले बताउँछ।
विदेश रोजगारीप्रति आकर्षण बढिरहेका बेला पन्तको जीवनले गाउँमै बसेर पनि सम्मानजनक जीवन सम्भव छ भन्ने सन्देश दिएको छ।
“यहीँ पसिना बगाउन सके विदेश जानु पर्दैन,” उहाँको स्पष्ट भनाइ छ।
भावी योजना
आगामी दिनमा नयाँ प्रजातिका फलफूल थप्ने, उत्पादन प्रशोधनतर्फ लैजाने र अन्य किसानसँग अनुभव साटासाट गर्ने उहाँको योजना छ। सरकारबाट प्राविधिक सहयोग र बजार व्यवस्थापन सुदृढ भए अझ धेरै सम्भावना खुल्ने पन्तको विश्वास छ।
प्रेरणादायी उदाहरण
जनार्दन पन्तको कथा रातारात बनेको सफलता होइन। यो वर्षौंको श्रम, धैर्य र माटोसँगको नाताले निर्माण गरेको पहिचान हो। रामपुर–१० बाट सुरु भएको उहाँको हरियो यात्राले आत्मनिर्भर कृषिको सम्भावना उजागर गर्दै अन्य किसान र युवाका लागि प्रेरणाको स्रोत बनेको छ।


