महाशिवरात्रि पर्व : धार्मिक आस्था, सांस्कृतिक महत्व र गण्डकी क्षेत्रका मन्दिरमा भक्तजनको घुइँचो

बोली खबर   २०८२-११-०३

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। भगवान शिवको आराधना गर्दै व्रत बस्ने, पूजा–अर्चना गर्ने र रात्रिभर जाग्राम बस्ने परम्परासहित यो पर्वले धार्मिक तथा सांस्कृतिक रुपमा विशेष महत्व बोकेको छ।

महाशिवरात्रि पर्वलाई भगवान शिवको प्राकट्य भएको दिनका रूपमा पनि मानिन्छ। यस दिन शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र फुल अर्पण गरी आराधना गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस दिन शिवको पूजा–अर्चना गरेमा मनोकामना पूरा हुने र पापबाट मुक्ति पाइने मान्यता रहेको छ।

यस वर्ष पनि गण्डकी क्षेत्रका विभिन्न शिवालय तथा धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिती देखिएको छ। विशेष गरी पाल्पा, स्याङ्जा लगायत गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न शिव मन्दिरहरूमा पूजाआजा र धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

पाल्पाका रामपुरको भुजात , केलादी टापुधाम र आसपासका शिवालयहरूमा श्रद्धालुहरू बिहानैदेखि जल चढाउन र पूजा गर्न पुगेका छन्। मन्दिर परिसरमा भजन–कीर्तन, आरती तथा प्रसाद वितरणका कार्यक्रमले धार्मिक वातावरण थप उल्लासमय बनेको छ। स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक तयारी समेत गरेको जनाएको छ।

यसैगरी पाल्पा स्याङ्जा आसपासका शिवालयहरूमा पनि भक्तजनको बाक्लो भीड देखिएको छ। कतिपय स्थानमा रात्रिभर भजन–कीर्तन, धूनी बाल्ने तथा सामूहिक आरती कार्यक्रम आयोजना गरिएको छ। युवाहरूले सांस्कृतिक झाँकी र भजन प्रस्तुत गरी पर्वलाई अझ उल्लासपूर्ण बनाएका छन्।

महाशिवरात्रि पर्वले धार्मिक आस्था मात्र होइन, समाजमा एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ। गण्डकीबेशी क्षेत्रका विभिन्न स्थानमा आयोजना हुने यस्ता धार्मिक कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन र सामाजिक सद्भाव कायम गर्न समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसरी भगवान शिवप्रतिको श्रद्धा र भक्तिभावका साथ मनाइने महाशिवरात्रि पर्वले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा आध्यात्मिक चेतना, शान्ति र सद्भाव फैलाउने विश्वास गरिएको छ।