पाल्पा — बालहित माध्यमिक विद्यालयको ५७औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा बालहित सभाहल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रहनु भएको छ ।
प्रमुख अतिथिको श्रेष्ठले बोल्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले अहिलेको शिक्षा प्रबिधि मैत्री हुनु पर्नेमा आफ्ना भनाइ राख्नु भएको छ ।
निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकारले विद्यालयको विकास र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सधैं साथ दिने बताउनु भएको छ ।
विद्यालय परिसरमा निर्माण गरिएको बालहित सभाहल लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ र निस्दी गाउँपालिकाको ४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। बिहिवार कार्यक्रमका बिच भवनको उद्घाटन समेत गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक नवल सिंह बिरकट्टाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा विद्यालयको कुल आम्दानी तथा खर्च १ करोड २९ लाख ४६ हजार १ सय ३१ रुपैयाँ रहेको छ। विद्यालयसँग १४ रोपनी जग्गा, ८ वटा भवन र २० वटा कक्षा कोठा रहेको जानकारी दिनु भएको छ । विद्यालयमा २० जना शिक्षक–कर्मचारी कार्यरत छन् भने १५३ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा हाल ७६ वटा अक्षयकोष स्थापना भएका छन्,। जसको कुल रकम १८ लाख १६ हजार ५ सय ७७ रुपैयाँ रहेको छ। उक्त अक्षयकोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग वितरण हुँदै आएको छ भने १५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी गराउनु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष फत्ते सी दलामी, शिक्षा शाखा प्रमुख नर बहादुर थापा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबिर राना तथा शिक्षक तिलबिर घर्तीलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रम शिक्षक शंकर सुनारको स्वागत बाट सुरु भएको थियो ।कार्यक्रमको सञ्चालन शिक्षक दोय मनिसा रेस्मी राना र विष्णु बहादुर थापाले संयुक्त रूपमा गर्नु भएको थियो। कार्यक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा अक्षयकोष दातालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
विद्यालयस्तरीय ‘स्कुल ट्यालेन्ट सो’ कार्यक्रम सन्चालन गरिएको थियो ।जसको बिजेता आचल खाण बनेकी छन भने फस्ट रनरअप रीतु खाम्चा र सेकेन्ड रनरअप सरीना मल्ल भएका छन्। अनुशासन पुरस्कार अमृता चन्द र आत्मविश्वास पुरस्कार भूमिका समाललाई प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ।








