रामपुर नगरपालिका मा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु

बोली खबर   २०८२-११-०९

पाल्पा । पाल्पाको रामपुर नगरपालिका मा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ नगरपालिकाको आयोजना तथा रामतुलसी माध्यमिक विद्यालय को समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ ले खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकाससँगै अनुशासन र सामाजिक सद्भाव अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले विद्यालय शिक्षासँगै खेलकुदलाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै रामपुर नगरपालिकाले पहाडी जिल्लामध्ये उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। रामपुरलाई शिक्षाको केन्द्र (हब) का रूपमा विकास गर्नुपर्ने धारणा राख्दै उहाँले ठूला उद्योगको सम्भावना न्यून रहेको अवस्थामा प्रविधिमैत्री तथा प्राविधिक शिक्षामार्फत समुन्नत रामपुर निर्माण गर्न सकिने बताउनुभयो। साथै, शैक्षिक विकासका लागि सरल, सहज र प्रभावकारी नीतिको आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले शिक्षा केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही खेलकुदले व्यवहारिक सीप र जीवनोपयोगी ज्ञान प्रदान गर्ने बताउनुभयो। उहाँले खेलले शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै विद्यार्थी जीवनमा खेलकुदको विशेष महत्व रहेको धारणा राख्नुभयो। विगतमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर दोस्रो स्थानमा सीमित हुँदै आएको स्मरण गराउँदै यस वर्ष प्रथम स्थान हासिल गर्ने लक्ष्यसहित सशक्त तयारी गर्न आग्रह गर्नुभयो। रामपुरको पहिचान, गौरव र इतिहासलाई कायम राख्न उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई प्रेरित गर्दै खेल क्षेत्रबाट उज्ज्वल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख बालकुमारी थापाले अनुशासनसहित आफ्ना प्रतिभा प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गर्नुभयो। नगरस्तरमै सीमित नभई जिल्लास्तरमा उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै पालिकाभित्रका सम्पूर्ण विद्यार्थी क्षमतालाई प्रतिनिधित्व गर्दै मेहनतका साथ खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रतियोगितामा नगरभित्रका २१ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ भने ३१ विधामा प्रतिस्पर्धा भइरहेको छ। पहिलो दिन छात्र–छात्रातर्फ विभिन्न दौड, लङजम्प, त्रिपल जम्प, महिला कबड्डी र सटफुट प्रतियोगिता सम्पन्न भएका छन्। उद्घाटन समारोहका अवसरमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी लाई सम्मान गरिएको थियो।

रामपुर–५, बेझाँडस्थित रामतुलसी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रम आयोजक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता आयोजक समितिका सदस्य सचिव बालकृष्ण लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन खेल संयोजक दिपेन्द्र प्रसाद भट्टराईले गर्नुभएको थियो।