पाल्पा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार सन्दिप रानाद्वारा पर्यटन–केन्द्रित सङ्कल्प–पत्र सार्वजनिक

बाेलीखबर   २०८२-११-१४

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले पर्यटन प्रवर्द्धनलाई आधार बनाउँदै आदर्श गाउँ योजनासहितको सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ। रमणेश्वर धाम, रम्भा–१ साठी बजारमा आयोजित पत्रकार सम्मेलनमा रानाले क्षेत्र नं. १ लाई वैदिक स्मार्टसिटी, गौरव पर्यटन तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले कालीगण्डकी उपत्यकालाई वैदिक ग्रन्थमा उल्लेखित क्षेत्रका रूपमा ब्रान्डिङ गर्दै कोट–गढी क्षेत्रलाई गौरव पर्यटन र दक्षिण भेगका आदिवासी जनजाति बसोबास क्षेत्रलाई सांस्कृतिक पर्यटकीय केन्द्र बनाउने योजना प्रस्तुत गर्नुभयो। साथै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पूर्वाधार, खेलकुद र रोजगारलाई प्राथमिकतामा राख्दै पाँच वर्षभित्र सबै स्थानमा केन्द्रीय विद्युत् लाइन विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो।

रानाले आर्यभञ्ज्याङ–हुमिन–रामपुर सडक स्तरोन्नति, अरुणखोला–रामपुर द्रुतमार्ग र कालीगण्डकी करिडोर जोड्ने रिङरोड निर्माण जस्ता पूर्वाधार योजना अघि सारेका छन्। युवालाई १५ लाखसम्म विना धितो स्टार्टअप कर्जा, एमबीबीएस अध्ययनका लागि निःशुल्क सहयोग तथा कक्षा १२ सम्म निःशुल्क शिक्षा नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कालीगण्डकी डाइभर्सनको विरोध गर्दै “एक थोपा रगत रहेसम्म डाइभर्सन हुन नदिने” अडान दोहोर्‍याउँदै रानाले पाल्पा–१ लाई देशकै नमुना संसदीय क्षेत्र बनाउने दाबी गर्नुभएको छ। कार्यक्रममा कांग्रेसका नेताहरूले परिवर्तनको पक्षमा जनमत रहेको दाबी गरेका थिए।

सङ्कल्प–पत्र (बुँदागत)

  • पर्यटनलाई समृद्धिको मुख्य आधार बनाउने घोषणा।
  • कालीगण्डकी उपत्यकालाई वैदिक स्मार्टसिटीका रूपमा विकास गर्ने योजना।
  • ऐतिहासिक कोट–गढी क्षेत्र समेटेर गौरव पर्यटन प्रवर्द्धन।
  • दक्षिण भेगलाई सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य।
  • ‘आदर्श गाउँ’ अवधारणा अघि सार्दै गाउँमै सर्वाङ्गीण सुविधा विस्तार गर्ने प्रतिबद्धता।
  • आर्यभञ्ज्याङ–हुमिन–ताहुँ–बिरकोट–रामपुर सडक स्तरोन्नति गर्ने योजना।
  • अरुणखोला–मित्याल–रामपुर सडकलाई द्रुतमार्गमा स्तरोन्नति गर्ने घोषणा।
  • कालीगण्डकी करिडोर जोड्ने रिङरोड निर्माणको योजना।
  • पाँच वर्षभित्र सबै बस्तीमा केन्द्रीय विद्युत् लाइन विस्तार गर्ने लक्ष्य।
  • कक्षा १२ सम्म निःशुल्क शिक्षा नीति ल्याउने पहल।
  • पाल्पा–१ बाट एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई निःशुल्क अध्ययन सहयोग गर्ने घोषणा।
  • रामपुर अस्पताललाई ट्रमा सेन्टर तथा जलन उपचार केन्द्रका रूपमा विकास गर्ने योजना।
  • युवालाई १५ लाखसम्म विना धितो स्टार्टअप कर्जा नीति ल्याउने पहल।
  • ‘मेरो सांसद्, मेरो अधिकार’ कार्यक्रममार्फत नागरिक–सांसद संवाद केन्द्र स्थापना गर्ने योजना।
  • कालीगण्डकी डाइभर्सनको कडा विरोध गर्दै अन्त्यसम्म संघर्ष गर्ने अडान।