पाल्पा । आज फागुन १५ गते ४४औँ मगर एकता दिवस देश–विदेशमा रहेका मगर समुदायले विविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाइरहेका छन्। विशेषगरी लुम्बिनी, गण्डकी प्रदेशका जिल्लाहरूमा भव्य झाँकी, बृहत् र्याली, सांस्कृतिक प्रस्तुति र शुभकामना आदान–प्रदानका कार्यक्रम आयोजना गरिएका छन्। पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा स्थापना भएको नेपाल मगर सङ्घको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। २०५७ सालमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनपछि फागुन १५ लाई औपचारिक रूपमा स्थापना दिवसका रूपमा मनाउन थालिएको सङ्घले जनाएको छ। हाल सङ्घले १२औँ महाधिवेशन सम्पन्न गरी १३औँ महाधिवेशनको पूर्वतयारी अगाडि बढाइरहेको छ।
संगठन विस्तार र ‘चारखम्बे नीति’
सङ्घका अनुसार केन्द्रीय समिति मातहत सातै प्रदेशमा प्रदेश समिति गठन भइसकेका छन् भने ७७ मध्ये ६८ जिल्लामा जिल्ला समिति र अधिकांश स्थानीय तहमा संरचना विस्तार गरिएको छ। वडा तथा एकाइ समितिलाई थप क्रियाशील बनाउँदै “जहाँ मगर त्यहाँ मगर सङ्घ, जहाँ मगर सङ्घ त्यहाँ मगरात स्वायत्तता” भन्ने नाराका साथ संगठन सुदृढीकरण अभियान चलाइएको छ।
शैक्षिक सुधार, सामाजिक–सांस्कृतिक जागरण, उद्यमशीलतामार्फत आर्थिक समृद्धि र राजनीतिक सशक्तीकरणलाई आधार मानेर ‘चारखम्बे नीति’ कार्यान्वयनमा ल्याइएको सङ्घको भनाइ छ।
भाषा, पहिचान र समावेशीको माग
लुम्बिनी प्रदेश जनजातिमध्ये मगरको बाहुल्य क्षेत्र भएकाले मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न, विद्यालय तहमा मगर भाषाको शिक्षा सुलभ बनाउन तथा राज्यका सबै संरचनामा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने माग पुनः दोहोर्याइएको छ।
साथै, फागुन १५ मा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने र प्रथम सहिद लखन थापा मगरलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्नुपर्ने मागसमेत समुदायले उठाउँदै आएको छ।
सांस्कृतिक उल्लास र एकताको सन्देश
आजका कार्यक्रमहरूमा मगर भेषभूषासहितको झाँकी, सोरठी, कौडा, सालैजो, घाटु नाचलगायत परम्परागत प्रस्तुति आकर्षणका केन्द्र बनेका छन्। वक्ताहरूले मगर दिवसले आपसी सम्बन्ध, सद्भाव र एकतालाई मजबुत बनाउँदै गुमेको राजनीतिक अधिकार र पहिचान पुनःस्थापनाका लागि ऊर्जा प्रदान गर्ने बताएका छन्।
२०६८ सालको जनगणनाअनुसार मगर समुदायको जनसंख्या करिब १९ लाख उल्लेख भए पनि सङ्घले वास्तविक संख्या ३० लाख नजिक रहेको दाबी गर्दै आएको छ। समुदायका अगुवाहरूले आफ्नो थर तथा पहिचान स्पष्ट उल्लेख नगर्दा यथार्थ तथ्यांक नआएको बताउँदै आएका छन्।
४४औँ मगर एकता दिवसले सांस्कृतिक संरक्षणसँगै अधिकार, पहिचान र समावेशीताको सवाललाई पुनः राष्ट्रिय बहसमा ल्याएको समुदायका नेताहरूको भनाइ छ।
तस्बिरः फाइल


