पाल्पा, ४४ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ मनाइएको छ । मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १८ औँ बार्षिक उत्सव मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ शुक्रबार मनाइएको हो ।एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा मगर एकता दिवस तथा बार्षिक उत्सव कार्यक्रम भएको थियो ।
एकिकृत मगर उत्थान समाजका अध्यक्ष नरेन्द्र कुमार जर्घाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको थियो । दिवस विशेष कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिकताको नाममा कतै हामीले हाम्रो कला र संस्कृति त भुलेका छैनौं । यस तर्फ सजग हुनु आवश्यक छउहाँले कसै संग प्रतिशोध राखेर नभै प्रतिस्पर्धा गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । मगर समुदाय अन्य समुदायले पछि पारेको भन्ने गरिए पनि हाम्रै कारणले पछि परेको स्पष्ट पार्दै समाजमा खुलेर प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मगर समुदायलाई आरक्षणमा मात्र सिमित नभै दक्षता र क्षमताको आधारमा अघि बढ्नु पर्ने बताउनुभयो ।
रामपुर नगरपालिका सबै समुदायको उत्थानको लागि प्रतिवद्ध रहेको बताउनुभयो । रामपुर नगरपालिकाको विकास र वर्तमान अवस्थाको बारेमा जानकारी दिनुभयो । महिलाहरुको उत्थानको लागि नगरपालिकाले आवश्यक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप रानाले नेपालमा बसोबास गर्ने १४२ जातजातिहरु मध्येमा मगर समुदायको समाजमा आफ्नै विशेष पहिचान रहेको बताउनुभयो । उहाँले समाजलाई उन्नत र सम्मुन्नत बनाउनका लागि मगर समुदायले महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै उहाँले भन्नुभयो,“हाम्रो भेषभुषा, संस्कृतिले नेपालीको छुट्टै पहिचान संसार भर चिनाउन सफल भएको छ । यसमा मगर समुदायको पनि योगदान छ ।” हाम्रो सांस्कृतिक विविधतालाई पर्यटनमा रुपान्तरण गरेर रोजगार सृजना गर्न सकिने बताउनुभयो ।
रामपुर नगरपालिका–४ का वडा अध्यक्ष एवं नेपाल मगर संघका सल्लाहाकार राम बहादुर रानाले आदिवासी जनजाति समुदाय मध्ये सबै भन्दा धेरै जनसंख्या भएको मगर समुदायको प्रकृतिमा र संस्कृतिमा विश्वास गर्ने समुदाय रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ रामपुरका अध्यक्ष एवं एकिकृत मगर उत्थान समाजका सल्लाहाकार संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेपाल मगर संघका केन्द्रिय सदस्य एवं एकिकृत मगर उत्थान समाजका संस्थापक अध्यक्ष क्याप्टेन धन बहादुर राना, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार एवं पूर्व अध्यक्ष क्याप्टेन रोमन बहादुर राना, नेपाल मगर संघका सल्लाहाकार बोम बहादुर थापा, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिला बहादुर गाहा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक केश बहादुर सारु थापा र नेपाल मगर संघ रामपुर ८ का अध्यक्ष चन्द्र बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
दिवस विशेष समारोहमा पूर्व पञ्चे बाजा सहित मगर संस्कृतिमा आधारित झाँकी, मौलिक भेषभुषामा सजिएका समाजका १९ वटा समुह सहित नेपाल मगर संग बाट १० वटै वडाको हजारौंको उपस्थितिमा बेझाँड बजार परिक्रमा गरिएको थियो । झाँकी प्रदर्शनीमा प्रथम क्रियाशिल मगर समूह रामपुर ७, द्वितीय लालीगुँरास मगर समूह रामपुर ५, तृतीय मातृभूमि मगर समूह रामपुर–५ र सान्तवना नेपाल मगर संघ–३ भएको छ । समारोहमा मगर संस्कृतिमा आधारित मौलिक सोरठी, झ्याउरे, सालैजो, कौरा, मारुनी, पञ्चेबजा प्रस्तुत गरिएको थियो ।
दिवसको अवसरमा १२ कक्षामा उत्कृष्ट अंक ल्याउन सफल रामपुर–५, का कमला थापा, रामपुर ७ का सन्जित राना सम्मान गरिएको छ । जेष्ठ नागरिक तर्फ क्रियाशिल मगर समुहका ८९ वर्षिय बगिसरा सुनारी र हुदमालो लाङ्घाली मगर ८६ लिल बहादुर थापालाई सम्मान प्रदान गरिएको हो । त्यस्तै यु–१९ राष्ट्रिय महिला भलिबल खेलाडी विनिता रानालाई सम्मान गरिएको थियो कार्यक्रममा लोकदोहोरी गायक श्याम राना मगर र गायिका बत्ती थापा मगरको सांगितिक प्रस्तुति रहेको थियो । कार्यक्रममा रामपुर नगरपालिका परिसर दर्शकहरुले भरिभराउ थियो । साथै विभिन्न समुहले मगरी खानाका परिकार प्रदर्शनी सहित विक्री गरेका थिए ।
एकिकृत मगर उत्थान समाजका उपाध्यक्ष भोज बहादुर रानाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई एकीकृत मयर उत्थान समाजका वरिष्ठ उपाध्यक्ष सुनिता रानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दानु हिस्की मगरले गर्नु भएको हो







