निस्दीको सबै वडामा राष्ट्रिय मगर एकता दिवस मनायो

बोली खबर   २०८२-११-१६


होम राई मगर
पाल्पा / निस्दी गाउँपालिका पाल्पाको सबै वडाहरुमा ४४औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमका साथ मनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दीमा आ-आफ्नो कार्ययोजना अनुसार दिवस मनाएको गाउँपालिकाले जनाएको छ ।
        मगर एकता दिवस मनाउनका लागि प्रत्येक वडालाई बजेट विनियोजन गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । जम्मा ८७ प्रतिशत मगर समुदाय रहेको निस्दीमा मगर संस्कृतिहरुलाई संरक्षण गर्न गाउँपालिकाले योजना अनुसार कार्य सन्चालन गरिने उहाँको भनाइ रहेको थियो । यसैबीच निस्दीको अर्चलेमा पनि विविध कार्यक्रमको आयोजना गरि मगर एकता दिवस मनाएको छ । कार्यक्रममा नेपाल मगर संघ पाल्पाका जिल्ला सदस्य यम बहादुर राना मगरले फागुन १५ गते मगर जतिहरुको सांगठनिक पर्वको रुपमा मनाउदै आएको बताउनुभयो । कार्यक्रमका मुख्य पाहुना समेत रहनु भएका राना मगरले पछिल्लो समयमा भाषा र संस्कृति लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै आफ्नो पहिचानलाई संरक्षण गर्न समूहगत एकता हुनुपर्नेमा जोड दिनु भएको थियो ।

यसैगरी कार्यपालिका सदस्य मिम्श्री बयम्बु मगरले निस्दीमा मगर समुदायको बहुल्यता रहेको बताउनु हुँदै स्थानीय सरकारले प्राथमिक तहको कक्षा १ देखि कक्षा ३ सम्म कानुङ्ग निस्दी नामक पाठ्यपुस्तक प्रयोगमा ल्याइने बताउनुभयो । कार्यक्रममा विभिन्न टोलहरुबाट लोपोन्मुख सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मगर संस्कृति सम्बन्धि सालैजो, झ्याउरे र कौरा नाचहरु प्रस्तुत गरिएको थियो । त्यसैगरी अर्चलेको वापाहरु ४ जना र कक्षा-१२ को परीक्षामा निस्दीभरिमा उत्कृष्ट अंक प्राप्त गर्ने केश कुमारी गाहालाई सम्मान गरिएको थियो ।
        वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको  वडा सदस्य कृष्ण बहादुर सोमैको स्वागत र होम राई मगरको सन्चालनमा भएको हो ।