फागुन १५, रामपुर (पाल्पा)
देशको अस्तित्व जोगाउन राष्ट्रवादी शक्ति नेकपा एमाले जिताउनुपर्ने नेकपा एमाले सचिव पद्मा अर्यालले बताउनु भएको छ । पाल्पाको रामपुर शुक्रवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै देशको अस्तित्व र राष्ट्रिय स्वाभिमान जोगाउनका लागि राष्ट्रवादी शक्ति नेकपा एमालेलाइ जिताउनु पर्ने बताउनु भएको छ ।
उहाँले पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेले जित्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरुको संघर्ष, त्याग र समर्पणका कारण यो क्षेत्रमा एमालेको आधार बलियो बनेको छ। हामी सबै एकजुट भएर लाग्यौँ भने विजय निश्चित छ।”
सचिव अर्यालले अहिले देशभर एमालेप्रति सकारात्मक माहोल बनेको दाबी गर्दै पार्टीका कार्यकर्तालाई आफ्नो मत सुरक्षित राख्दै ढुक्क भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो। उहाँले कार्यकर्तालाई संगठनलाई थप मजबुत बनाउँदै घरदैलो अभियान र जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउन निर्देशन दिनुभयो।
रामपुर नगरकमिटीले आयोजना गरेको उक्त कार्यक्रममा उहाँले अहिलेको निर्वाचन परिस्थिति असामान्य रहेको बताउँदै यो चुनाव आफूहरुले चाहेको चुनाव नभएको पनि उल्लेख गर्नुभयो। “यो चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका थियो। चुनाव हुनुपर्ने खास कारण पनि थिएन,” उहाँले भन्नुभयो, “तर हामी लोकतन्त्र मान्ने दल भएकाले चुनावबाट भाग्दैनौँ।”
उहाँले अहिलेको चुनाव सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई देशको अस्तित्व जोगाउने महत्वपूर्ण चुनाव भएको उल्लेख गर्नुभयो। “हिजोको चुनाव विचारको चुनाव हुन्थ्यो, तर अहिलेको चुनाव देशको अस्तित्व जोगाउने चुनाव हो,” उहाँले भन्नुभयो, “त्यसैले लोकतान्त्रिक गणतन्त्र मान्ने सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई चुनावमा जिताउन आवश्यक छ।”
अर्यालले हालै चर्चामा आएको जेन्जी आन्दोलनमा बाह्य शक्तिहरूको घुसपैठ भएको दाबी गर्दै देशलाई अस्थिर बनाउन खोजिएको आरोप लगाउनुभयो। “घरमा आगो लगाएर देश सुरक्षित हुँदैन,” उहाँले भन्नुभयो, “देश जलाउने र अशान्ति फैलाउनेहरू राष्ट्रवादी हुन सक्दैनन्।”
उहाँले नेपालमाथि विदेशी शक्तिहरूको प्रभाव बढिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो। अमेरिकाको हस्तक्षेपबारे टिप्पणी गर्दै उहाँले ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई दबाबमा पार्ने प्रवृत्ति देखिएको बताउनुभयो।
उहाँले उदाहरण दिँदै भन्नुभयो कि जसरी अमेरिकाले भेनेजुयला प्रति व्यवहार गर्यो, त्यसैगरी अहिले नेपाललाई प्रयोग गरेर चिन माथि रणनीतिक दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ। “नेपाललाई युक्रेन जस्तो अवस्थातर्फ धकेल्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने समय आएको छ।”
कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल ले पनि नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय भएर चुनावी तयारीमा लाग्न निर्देशन दिनुभयो। उहाँले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विकास र समृद्धिको एजेन्डालाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रम रामपुर स्थित बेझाँड बजारमा रहेको होटल श्रीनगर को सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम नेकपा एमाले रामपुर नगर कमिटीका उपाध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लोकनाथ भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले आगामी निर्वाचनलाई देशको राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान र विकासको दिशासँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
सहभागीहरूले एमाले नेतृत्वमा देशमा विकास, पूर्वाधार निर्माण तथा आर्थिक समृद्धिको आधार तयार भएको भन्दै त्यसलाई निरन्तरता दिन पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।


