टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने

बोली खबर   २०८२-११-२८

पाल्पा, माथागढी ।
माथागढी गाउँपालिका–७ रहबास धनुवा स्थित श्री फ्युचर स्टार युवा क्लबले साबिक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

क्लबका खेल संयोजक थमन राना मगरका अनुसार भलिबल प्रतियोगिता आगामी २०८२ साल चैत्र १२ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। प्रतियोगिताको समापन अवसरमा चैत्र १४ गते साँझ सिन्धुलीबाट आउने सिन्धुली कालाघर समूह तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि दर्ता शुल्क रु २,५०० निर्धारण गरिएको क्लबले जनाएको छ। प्रतियोगितामा विजेता टोलीहरूलाई क्रमशः प्रथम पुरस्कार रु ४०,०००, द्वितीय रु २५,०००तृतीय रु १५,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता माथागढी–७ धनुवा स्थित खेलमैदानमा सञ्चालन हुनेछ। खेल T.T. (टस–टस) प्रणाली अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रत्येक टोलीमा कोचसहित ९ जना खेलाडी सहभागी हुन पाउने छन् भने साबिक वडाभन्दा बाहिरका अधिकतम २ जना खेलाडी मात्र समावेश गर्न पाइने खेल संयोजक राना मगरले जानकारी दिनुभयो।

सहभागी खेलाडीहरूले खाना, खाजा तथा बसोबासको व्यवस्था स्वयं आफैंले मिलाउनुपर्ने छ। प्रत्येक खेलाडीले अनिवार्य रूपमा जर्सी लगाएर उपस्थित हुनुपर्ने र खेल सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम र मान्य हुने आयोजकले जनाएको छ।