पाल्पा । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदो तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा, हिमपात र तीव्र गतिको हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो । प्राधिकरणले आउँदो तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ ।
लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी
भोलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेको छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।
प्राधिकरणको विशेष सुझाव
प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू ९चुल्हो, ग्यास आदि० बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।



