निस्दीको अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न 

बोली खबर   २०८२-१२-०८

होम राई मगर, चैत ८ /  पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेमा अर्धवार्षिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका थिए । यसैबीच  मोटरबाटो स्तरोन्नति , स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सेवाग्राहीलाई दिनुपर्ने सेवा सुबिधा बारे जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुले काम धेरै हुने तर मूल्यांकन कम आउने गरेको, वास्तविक नाप र मूल्यांकनको नापजाँचमा फरक परेको, उपभोक्ता समिति र टेण्डर मार्फत गर्ने योजनामा फरक किन लगायतका जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले सार्वजनिक खरीद ऐन र स्थानीय सरकार सन्चालन ऐन अनुसार कार्य सन्चालन गर्दा उपभोक्तालाई सास्ती भएको महसुस आफुले पनि गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सारुले टेण्डर मार्फत सन्चालन भएका योजनाहरुले निस्दीमा चित्त बुझ्दो कार्य नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आफु योजना तथा कार्यक्रमको अनुगमन समितिको संयोजक भएकोले कार्य स्थलमा पुगेर आवश्यक सल्लाह सुझाव दिदैं आइरहेको बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि स्वयं महिलाहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले आफु निस्दीमा आएपछि सम्पन्न हुन नसकेका योजनाहरु बारे जानकारी लिने कार्य जारी रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चितौरेले गाउँपालिका स्तरमा सन्चालन गरिने सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनताहरु उपस्थित हुन समस्या देखिएको बताउनु हुँदै घुम्ती शिविर जस्तै सबै वडामा सन्चालन गरिएको बताउनुभयो । उहाँले अब निस्दीमा चौमासिक रुपमा यस्ता कार्यक्रम सन्चालन गरिने समेत बताउनुभयो । कार्यक्रम सहभागीले गरेका जिज्ञासा,गुनासो र सुझाव बारे सम्बन्धित शाखाका प्रमुखहरु पूर्वाधार शाखाका प्रमुख सन्जय खनाल, पशु शाखा प्रमुख ओम बहादुर मश्राङ्गी, बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डे लगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष मेख बहादुर सुनारीले जिज्ञासा तथा सुझाव दिनु हुने सबैलाई धन्यवाद दिनुहुँदै वडाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभयो । वडा सचिब मीन बहादुर रानाले कार्यक्रमको उद्देश्य बारे बताउनु भएको कार्यक्रमको सहजीकरण पत्रकार पुनराम सुनारी र होम राई मगरले गर्नुभएको हो ।