पाल्पाको रामपुर नगरपालिका–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानको स्तरोन्नति कार्य शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। रामपुर नगरपालिकाबाट विनियोजित बजेटमार्फत ज्योतिपुञ्ज युवा क्लबले उक्त कार्य सुरु गरेको हो।
नगरपालिकाले चालु आर्थिक वर्षमा खेल मैदान स्तरोन्नतिको लागि बहुवर्षीय आयोजना अन्तर्गत दुई करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये चालु वर्षका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ, जसअन्तर्गत पहिलो चरणको स्तरोन्नति कार्य सञ्चालन हुनेछ।
शिलान्यास कार्यक्रम ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाको अध्यक्षता तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा तथा जापानी समाजसेवी काजुमासा काकीमी (ओके बाजे)ले वैदिक विधिपूर्वक शिलान्यास गरी कार्यको शुभारम्भ गर्नुभएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले नगरभित्रका खेल मैदानहरूलाई विभिन्न खेलकुदका लागि आवश्यक पूर्वाधारसहित विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो। किसानबारी खेल मैदान स्तरोन्नतिका लागि ११ करोड ६२ लाख रुपैयाँको डीपीआर तयार भइसकेको उल्लेख गर्दै उहाँले चालु वर्षमा ५० लाख रुपैयाँबाट कार्य सुरु गरी आगामी वर्षहरूमा निरन्तर बजेट विनियोजन गर्दै लैजाने बताउनुभयो।
उहाँले नगरभित्र दुई वटा कवर्ड हल निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै किसानबारीलाई फुटबल हब र बुल्टार खेल मैदानलाई क्रिकेट हबको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।
ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुन्दर रानाले किसानबारी खेल मैदानलाई फुटबल हबको रूपमा विकास गर्न नगरपालिकाले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्नुभयो। उहाँका अनुसार चालु वर्षको बजेटमार्फत पर्खालसहितको घेराबार निर्माण, मैदान सम्याउने लगायतका काम गरिनेछ।
क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार धुर्व प्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सल्लाहकार कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो।
५० लाख रुपैयाँ लागत अनुमान गरिएको यस वर्षको निर्माण कार्य सक्षम निर्माण सेवा प्रा.लि.ले भ्याटसहित ३६ लाख ५१ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी रामपुर नगरपालिकासँग सम्झौता गरेको छ।






