महायज्ञ अन्तर्गत स्नेह मिलन कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-१२-१४

महायज्ञ अन्तर्गत स्नेह मिलन कार्यक्रम सम्पन्न

रामपुर, पाल्पा, १४ चैत्र
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाद्वारा आगामी वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुन गइरहेको पाँच दिवसीय श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ–व्यावहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रम को तयारी स्वरूप स्नेह मिलन तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम संस्थाकी क्षेत्रीय प्रमुख राजयोगिनी प्रेमा दिदी को अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा महायज्ञको उद्देश्य, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनबारे विस्तृत जानकारी गराइएको थियो। संस्थाले सञ्चालन गर्ने निःशुल्क, निःस्वार्थ र निःशर्त सेवायोजनाअन्तर्गत हुने उक्त महायज्ञ ज्ञान र योगमा केन्द्रित रहने जानकारी दिइएको छ।

महायज्ञमा श्रीमद्भगवद् गीता को प्रवचनका लागि पोखरा बाट भागवत् वाचिका राजयोगिनी अमृत दिदी को उपस्थिति रहने जनाइएको छ।

कार्यक्रममा ब्रह्माकुमार शिशिर रेग्मीले कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै ब्रह्माकुमारी सरस्वती दिदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै ब्रह्माकुमार भानुप्रकाश पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

यस अवसरमा रामपुर नगरपालिकाका वडाध्यक्षद्वय दुर्गाप्रसाद पोखरेल र दिवाकर देवकोटाले कार्यक्रमको सफलताको कामना व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न वडाका करिब ८० संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।