सिलुवा स्वास्थ्य चौकी भवन उद्घाटन, स्वयंसेविका सम्मान

बोली खबर   २०८२-१२-२०

पाल्पा — सिलुवा स्वास्थ्य चौकीको नव–निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सारुले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकार नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो। उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यस्ता भवनहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता पूर्वखोला गाउँपालिका–१ का वडा अध्यक्ष श्री गिरमान आले ले गर्नुभएको थियो। अध्यक्ष आलेले स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र आगामी दिनमा थप सेवा विस्तार गरिने जानकारी दिनुभयो।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापा ले पनि कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा समुदायमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। सम्मानित स्वयंसेविकाहरूको योगदानप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए।

नव–निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय, सहज तथा प्रभावकारी स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।