पाल्पा —
“सुनौलो सहर, समृद्ध रामपुर, हाम्रो रहर” तथा
“उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारासहित ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आर्थिक विकास, उद्यमशीलता तथा रोजगार सृजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा चैत्र २० गते होटल नमस्ते पाल्पामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष दोबराज तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने अध्यक्षता आर्थिक विकास समिति सदस्य दुर्गा देवी भण्डारी गौतम ले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिवारीले आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले सहकारीमार्फत साना पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने धारणा राख्नुभयो।
प्रदेश बचत तथा ऋण सहकारी संस्थाका सदस्य सागर देवकोटा ले साना–साना बचतलाई एकीकृत गरेर आर्थिक सशक्तीकरण सम्भव हुने बताउनुभयो। उहाँले सहकारीलाई विश्वासको आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्नुभयो।
रामपुर नगरपालिका सहकारी शाखा प्रमुख गणेश रेग्मी ले सहकारीका सिद्धान्त, महत्व र व्यवहारिक पक्षका बारेमा प्रशिक्षण दिनुभएको थियो। उहाँले सहकारीलाई दिगो र प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र न्यौपाने ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी ले गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन रामपुर बचत तथा ऋण सहकारी संस्थाका सचिव कृतिनाथ श्रेष्ठ ले गर्नुभएको थियो।
कार्यक्रममा नगरभित्रका २१ वटा सहकारीका सञ्चालक समिति सदस्य तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम अघि रामपुर नगरपालिका कार्यालयबाट होटल नमस्तेसम्म विभिन्न नारासहित प्लेकार्ड बोकेर र्यालीसमेत निकालिएको थियो।
उक्त कार्यक्रमको समन्वय पालिकामा सञ्चालित सम्पूर्ण सहकारीहरूले गरेका थिए।





