पाल्पा, रामपुर नगरपालिका–५, बेझाँडमा मंगलबार देखि श्रीमद् भागवद् गीता ज्ञान महायज्ञ वैज्ञानिक एवं व्यावहारिक प्रवचन सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाले नहर अफिस नजिकै ओम् शान्ति भवनमा विश्व शान्ति र मानव कल्याणका लागि महायज्ञ आयोजना गरेको हो ।
आगामी वैशाख ५ गते सम्म हुने पाँच दिवसिय महायज्ञको भव्यताका साथ समुद्घाटन गरिएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रीय अध्यक्ष राजयोगिनी प्रेमा दिदीको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रम पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप रानाको प्रमुख आतिथ्यतामा भएको हो । महायज्ञको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप राना, लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राज प्रसाद श्रेष्ठ, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले संयुक्त रुपमा समुद्घाटन गर्नु भएको हो महायज्ञको समुद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य रानाले रामपुर पुण्यभूमि रहेको बताउनुभयो ।
कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराण र ग्रन्थहरुमा उल्लेख भएको पवित्र स्थानलाई अहिलेको आधुनिक समय संग जोडिने हिसाबले मनको आनन्द र भौतिक आनन्द दुवै संयोजन भएको शहरको रुपमा परिकल्पना गरेका छौं ।” भगवान रामचन्द्रले बसोबास गरेको तथा विभिन्न ऋषिहरुले तपस्या गरेको पुण्य भूमि रामपुरलाई भौतिक तथा मनको आनन्द प्राप्तिको स्थलको रुपमा अघि बढाउने लक्ष्य रहेको बताउनुभयो । गीता आफैमा ब्रमाण्डिय ज्ञान रहेको बताउँदै रानाले जीवन कसरी जिउने देखि भौतिक विज्ञान सम्मको ज्ञान गीतामा प्राप्त गर्न सकिने बताउनुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रीय सचिव एवं कार्यक्रम संयोजक ब्रह्माकुमार भानु प्रकाश पौडेलले राष्ट्र प्रेम, विश्व शान्ति र मानव कल्याण महायज्ञ सञ्चालन गरिएको जानकारी दिनुभयो । आर्थिक संकलनका लागि नभै ज्ञान बाँड्ने उद्देश्यले निःस्वार्थ भावका साथ कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । महायज्ञमा भागवत वाचिका राजयोगिनी ब्रह्माकुमारी अमृत दिदी मार्फत श्रीमद्भगवद् गीताको प्रवचन भैरहेको छ । कार्यक्रम संयोजक भानु प्रकाश पौडेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमार शिशिर रेग्मीले गर्नु भएको हो ।
कार्यक्रम समुद्घाटन पूर्व पञ्चे बाजा सहितको सद्भाव ¥याली समेत निकालिएको थियो । श्रीमद्भगवद् गीताको प्रवचन श्रवणका लागि रामपुर नगर संगै विभिन्न स्थान बाट उल्लेख्य सहभागीता रहेको छ






