पाल्पा — निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया तथा स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी रामपुरमा सम्पन्न भएको छ। कार्यक्रम लुम्बिनी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा तथा कृषि ज्ञान केन्द्र पाल्पा र भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको सह–आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दुर्गा प्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी पशु पन्छी तथा मत्स्य विकास केन्द्र रुपन्देहीका निमित्त महा निर्देशक श्रवण कुमार चौधरीले सहजीकरण गर्दै प्रदेश सरकारको कृषि विकास सम्बन्धी प्राथमिकता र कार्यदिशाबारे प्रकाश पार्नुभयो। उहाँले कृषि तथा पशुपालनको महत्त्व, प्रदेश सरकारका महत्वाकांक्षी योजना, आर्थिक वर्ष २०८२/०८३ को बजेट, दीर्घकालीन सोच, रणनीति, लक्ष्य, अपेक्षित परिणाम, समन्वय र सहकार्यका पक्षहरूबारे जानकारी गराउनुभयो। साथै कृषि तथा पशु कार्यक्रममा दिइने अनुदानका सकारात्मक र नकारात्मक असर, चुनौती र समस्याहरूको विषयमा समेत चर्चा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजु प्रसाद श्रेष्ठले निर्वाचन क्षेत्र लक्षित योजना तर्जुमा गर्दा स्थानीय आवश्यकता र वास्तविक समस्यालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो। उहाँले कृषिलाई प्रदेशको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न आधुनिक प्रविधि, व्यवसायिकरण र बजार सुनिश्चितता अनिवार्य रहेको उल्लेख गर्नुभयो।
श्रेष्ठले कृषि तथा पशुपालन क्षेत्रमा दिइने अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउँदै वास्तविक कृषकसम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउन सके मात्र दीगो उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो। साथै भूगोल र माटो सुहाउँदो उत्पादनलाई प्राथमिकता दिनुका साथै कृषिसँग पर्यटनलाई जोड्दै आयआर्जनका नयाँ सम्भावना सिर्जना गर्नुपर्ने बताउनुभयो।
त्यस अवसरमा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कृषकलाई अवसर प्रदान गरिए उनीहरूले उत्कृष्ट काम गर्न सक्ने उल्लेख गर्दै रामपुरको आलु, निस्दीको अदुवा र अम्रिसोको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले पछिल्लो समय बन्यजन्तुका कारण कृषिमा समस्या बढ्दै गएको उल्लेख गर्दै भूगोल र माटो सुहाउँदो रैथाने बाली उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। साथै कृषि र पर्यटनलाई सँगसँगै विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कृषक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उठेका सुझावहरूलाई आगामी योजना निर्माणमा समेट्ने जनाइएको छ।
कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्क खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन भेटेनरी तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाका युबराज ज्ञवालीले गर्नुभएको थियो।






