पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान स्वास्थ्य चौकीमा गर्भनिरोधक परिवार नियोजनको अस्थायी साधन (इम्प्लान्ट) पाखुरामा राखेर घर फर्किंदै गरेकी ४० दिनकी सुत्केरीको बाटोमै मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याम मधुवन घर भई तिनाउ गाउँपालिका–३, टोकल्दी माइतीमा बस्दै आएकी ३२ वर्षीया चमेली सारु (मनिला)को बाटोमै मृत्यु भएपछि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छ ।सोमबार सारु दोभान स्वास्थ्य चौकीमा इम्प्लान्ट लगाउन जानु भएको थियो ।
हातको माथिल्लो भित्री भागमा इम्प्लान्ट लगाएर सार्वजनिक सवारी साधन बसमा फर्किने क्रममा सिद्धार्थ राजमार्गको झुम्सा आमबोट नजिकै आइपुग्दा बेहोस भएको परिवारले जनाएका छन् । चमेलीका ससुरा मानबहादुर सारुका अनुसार दोभान स्वास्थ्य चौकीमा गई इम्प्लान्ट राखेर घर फर्किने क्रममा बुहारी चमेली एक्कासि बसमै बेहोस भएको बताउनु भएको छ । एक्कासि चक्कर लागेपश्चात् गाडीबाट बाहिर ओराली नजिकैका स्थानीयलाई र प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ कर्मचारीसमेतलाई बोलाई प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको हो । चिकित्सकले जाँच गरेपछि चमेलीलाई मृत घोषणा गरिदिएका थिए । ‘मेरी बुहारीको मृत्यु के कति कारणले भयो ?’ ससुरा मानबहादुरले इलाका प्रहरी कार्यालय बुटवलमा दिएको जाहेरीमा उल्लेख छ, ‘यसको उचित छानबिन गरियोस् ।’
सोमबार निधन भएकी सारुको बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । वडा सदस्य टंक बस्यालका अनुसार पोस्टमार्टम गरी आफन्तलाई शव बुझाइएको छ । दोभान स्वास्थ्य चौकी प्रमुख ठाकुर कुँवरले अनुभवी सिनियर अनमिबाट इम्प्लान्ट लगाइएको र सबै प्रोटोकल पूरा गरेर मात्र राखिने भएकाले स्वास्थ्यकर्मीको गल्ती नभएको दाबी गर्नु भएको छ। उहाँका अनुसार इम्प्लान्टले हर्मोन छोडेर गर्भ बस्न नदिने भएकाले यसअघि लगाएकाले यसपटक पनि लगाइएको हो ।
यसको प्रभावकारिता तीनदेखि पाँच वर्षसम्म रहन्छ । मृतक सारुका यसअघि दुई छोरी छन् । यसपटक उनको छोरा जन्मिएको थियो ।तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले इम्प्लान्टका कारण त्यस्तो समस्या नहुनुपर्ने बताउनु भएको छ । ‘महिलामा अन्य कुनै समस्या भएका कारण त्यस्तो भएको हुन सक्छ,’ उहाँ ले भन्नु भयो, ‘अहिले हामीले यही कारणले मृत्यु भएको हो भन्न सकिँदैन ।’


