रामपुरमा क्षेत्र–वडा हेरफेर र नदीजन्य पदार्थ उपयोगबारे सर्वपक्षीय छलफल

बाेलीखबर   २०८३-०१-१०

पाल्पा । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ३ गते जारी गरेको गाउँपालिका तथा नगरपालिका वडाको सङ्ख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिकाको वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ संगै नगर भित्र चर्चाको विषय बनेको नदीजन्य पदार्थ उपयोगको विषयमा सरोकारवाला संघ छलफल गरेको थियो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथी श्रेष्ठले संविधान अनुसार सरकारले १०र१० वर्षमा राज्यको पुनसंरचना हेरफेर गर्ने नीति अनुसार सरकारले कार्यविधि जारी गरेको बताउनुभयो । सरकारले पालिकाको संख्या घटाई प्रशासनिक खर्च घटाउन संरचना हेरफेर गर्न लागेको बताउनुभयो । उहाँले यस विषयमा विज्ञ संग छलफल गरी अघि बढ्नु पर्ने बताउनुभयो । कालीगण्डकी वेशीलाई जिल्लाको रुपमा पुनसंरचना गर्न ठूलो मेहेनतको खाँचो रहेको बताउनबताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले प्राविधिक कुराहरु समेटेर पछि तयार गर्ने भएकाले राय संकलन गरिएको बताउनुभयो ।खनालले सरकारको नीति अनुसार सिमाना हेरफेर र वर्गीकरणको विषयमा राय माग गरेको र सोही अनुसार सरोकारवाला संग छलफल गरी अघि बढ्ने बताउनुभयो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सबै सरोकारवालाहरुको राय अनुसार अघि बढ्ने बताउनुभयो । पालिकाको संख्या र वडा घटाउने सरकारको योजना अनुसार सुझाव संकलन गर्न कार्यक्रम गरिएको थापाले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता शंकर पोखरेलले सरकारले जारी गरेको मापदण्ड स्थानीय तहलाई कमजोर बनाउने गरी आएको बताउनुभयो । उहाँले राज्यको पुन संरचनामा कालीगण्डकी वेशी क्षेत्रको भुभागलाई सके सम्म एउटै जिल्ला बनाउन वा एकीकृत विकासको लागि कालीगण्डकी महानगर विकास प्राधिकरण गठनमा जोड दिनु पर्ने बताउनुभयो । कालीगण्डकी सभ्यताको संरक्षणको लागि एकजुट हुन आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठले वडा संख्या घटाउनु पर्ने सुझाव राख्नुभयो ।नेपाली कम्युनिष्ट पार्टीका रामपुर नगर संयोजक फणेश्वर गौतमले नगरपालिकाको सिमाना हेरफेर गर्दै गर्दा कालीगण्डकी वेशी क्षेत्रको भुभागलाई समेतेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । उहाँले मापदण्ड अनुसार तत्काल अघि बढ्दै गर्दा रामपुर नगरपालिका भित्र निस्दी गाउँपालिका वडा नं। १ र ५, पूर्वखोला गाउँपालिका १ र रम्भा गाउँपालिका १ लाई रामपुरमा समावेश गर्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले सरकारको नीति अनुसार नगर भित्रको वर्तमान वडा संख्या घटाएर अन्य पालिकाको क्षेत्रलाई समेत समेटेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले भोगचनलका आधारमा गुगलको नक्सा सच्याईनु पर्ने बताउँदै पूनसंरचनामा सोँच फराकिलो बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले भोगचलनको आधारमा रहेको वडाको नक्सा गुगल अनुसार फरक परेको भन्दै नगर भित्रका वडाको पुन नक्साङ्कन आवश्यक रहेको बताउनुभयो ।

६ का वडा अध्यक्ष दिवारक देवकोटाले सरकारको मापदण्ड अनुसार पुनसंरचना गर्नु पर्नेमा जोड दिनुभयो । रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठकले अन्य पालिकाको वडालाई गाभ्ने विषयमा अन्तरपालिका विच छलफल र समन्वय अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले हालको वडाको संरचना परिवर्तन गर्दै गर्दा दिर्घकालिन रुपमा पर्ने प्रभाव बारे पनि सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।

रामपुर ३ का प्रकाश ज्ञावलीले राज्यको पुर्न संरचनामा नगर भित्रका वडा संख्या घटाउनु पर्ने र नगर भित्र पायक पर्ने अन्य पालिकाको वडालाई समावेश गरेर अघि बढ्न सकेमा थप सहज हुने बताउनुभयो ।

यस्तै नदीजन्य पदार्थ उपयोग र विकास निर्माणको विषयका उठेका सवालको विषयमा रामपुरका सरोकारवालाहरुले विकास निर्माणका कार्य रोकिन नहुने बताएका थिए । नदी जन्य पदार्थ उपयोगको विषयमा नियम संगत ढंग बाट अघि बढ्नु पर्नेमा जोड दिएका थिए । लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सुशासनको कुरामा पारदर्शी ढंग बाट अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले नगरभित्र सञ्चालनमा रहेका योजना समय मै सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो । व्यवसायीहरुले ढुक्कका साथ काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ काफ्लेले विकास निर्माणमा देखिएका समस्यमा सहजिकरण गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले जनताले स्पष्ट थाहा पाउने गरि सूचना टाँस गरेर नियम संवत् ढंग बाट नदिजन्य सामग्रीको उपयोग गर्नु पर्ने बताउनुभयो । आआफ्नो अधिकार अनुसार अघि बढ्ने बताउनुभयो ।

नगर प्रमुख रमण बहादुर थापाले विकास निर्माणका योजनालाई गति दिन नदीजन्य पदार्थ उत्खनन् गर्न निर्माण व्यवसायीलाई विधि र ऐन अनुसार अनुमति दिए पनि विभिन्न वाहाना अवरोध हुने गरेको बताउनुभय‍ो । निर्माण व्यवसायीलाई ईआईएरआईई भएको स्थान बाट उत्खनन् गर्न स्थानीय तहले आफ्नो अधिकार अनुसार सहजिकरण गर्दै आएको बताउनुभयो । गिट्टी बालुवा उत्खनन् को विषयमा उठेका सवालको जवाफ दिदै नगरपालिकाले कुनै नियत नराखी विकास निर्माणलाई गति दिन सहजिकरण गर्दै आएको बताउनुभयो ।

निर्माण व्यवसायी पुरुषोत्तम केसीले निर्माण व्यवसायीहरुको संरक्षणका लागि सरोकावालाहरु गम्भिर बन्नु आवश्यक रहेको बताउनुभयो । निर्माण सामग्री नदी बाट कानुन संवत् ढंग बाट निकाल्दै गर्दा अनावश्यक भ्रमका कारण हेपिनु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई सुरक्षित साथ काम गर्न वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।

शसस्त्र प्रहरी बलका प्रहरी नायव निरीक्षक झुपा कुमारी पन्थी र ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदानमा प्रतिवद्ध रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर प्रवक्ता एवं वडा नं। १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले गर्नु भएको हो ।