स्याङ्जा पत्रकार महासंघ टोलीलाई पाल्पा रामपुरमा स्वागत,

बोली खबर   २०८३-०१-१३

नेपाल पत्रकार महासंघ स्याङ्जाको भ्रमण टोलीलाई पाल्पामा एक कार्यक्रमका बीच आत्मीय स्वागत गरिएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाबाट आएको टोलीलाई पाल्पा शाखाले सम्मानसहित स्वागत गर्दै दुवै जिल्लाका पत्रकारबीच सहकार्य र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको हो।

कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दीप राना को विशेष उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै सांसद रानाले यस क्षेत्रलाई योजनाबद्ध रूपमा “स्मार्ट सिटी” का रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोग, डिजिटल सेवा विस्तार, व्यवस्थित शहरी पूर्वाधार निर्माण, स्वच्छता तथा दिगो विकासका आधारमा क्षेत्रलाई नमूना शहरका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सञ्चार क्षेत्रको विकास र पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन राज्यले आवश्यक सहयोग गर्ने धारणा पनि राख्नुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले वर्तमान पत्रकारिताको अवस्था, डिजिटल युगमा सञ्चार माध्यमको भूमिका, चुनौती र अवसरका विषयमा खुला छलफल गरेका थिए। उनीहरूले पत्रकारितालाई अझ विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन आपसी सहकार्य, तालिम तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले यस्ता भ्रमण र अन्तरक्रियाले पत्रकारहरूबीच आत्मीयता बढाउनुका साथै स्थानीय तहका मुद्दा, विकासका सम्भावना र चुनौतीहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। स्याङ्जा टोलीले पाल्पा शाखाको आतिथ्यप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष  प्रदिप कोइराला ले गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल ले स्वागत गर्दै स्याङ्जाबाट आएको टोलीप्रति आभार प्रकट गर्नुभयो र यस्ता भेटघाट तथा अन्तरक्रियाले पत्रकारहरूबीच सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन माधब गैरे ले गर्नुभएको थियो।