पाल्पा , रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको छ ।
तालिम लिन चहाने युवाहरुको निवेदनको आधारमा छनौट गरी ४० जना युवाहरुलाई तालिम दिन थालेको छ । तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवाहरुलाई स्वरोजगार संगै आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले दक्ष जनशक्तिको उत्पादन संगै स्थानीयस्तर तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सिप सिकाईएको बताउनुभयो । थापाले दक्ष जनशक्तिको अभावमा अन्य स्थानबाट आएका व्यक्तिहरुले व्यवसाय गरे पनि स्थानीयस्तरमा जनशक्ति भए पनि दक्षताको कमीका कारण व्यवसाय गर्न नसक्ने अवस्थालाई मध्येनजर गर्दै बारवार र इलेक्ट्रोनिक्स तालिम सञ्चालन गरिएको बताउनुभयो ।
नगर प्रमुख थापाले विभिन्न समयमा युवा लक्षित सिप विकास सम्बन्धी तालिम सञ्चालन गरे पनि तालिम पश्चात सिकेका सिपको सदुपयोग नगरेको पाइएकोले ध्यानपूर्वक तालिममा सिप सिकेर व्यवसाय गर्न आग्रह समेत गर्नुभयो । साथै व्यवसाय प्रबर्द्धनका लागि नगरपालिकाले व्याज अनुदान कार्यक्रम संशोधन गरेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आफुमा भएको सिपको माध्यमबाट व्यवासय बने सफलता पाउने भन्दै लगनशिलताका साथ सिप सिक्न आग्रह गर्नुभयो ।
उहाँले स्वादेश होस वा विदेश जुनसुकै क्षेत्रमा स्वरोजगार बन्नका लागि यस्ता प्राविधिक सिपले सहज हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका रोजगार संयोजक गणेश प्रसाद रेग्मीले आवश्यकताको आधारमा तालिममा छनौट गरिएकोले व्यवसाय गर्न सक्ने गरी सिप सिक्नु पर्नेमा जोड दिनुभयो ।
लुम्बिनि पोलिटेक्निक इन्ष्टिच्युट प्रालिका निर्देशक अरुण अर्यालले दक्ष बनाइ आत्मनिर्भर बन्नका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षातामा भएको तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन लुम्बिनि पोलिटेक्निक इन्ष्टिच्युट प्रालिका प्रबन्ध निर्देशक अरुण अर्यालले गर्नु भएको थियो । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनि पोलिटेक्निक इन्ष्टिच्युट तथा आइडियल इन्जिनिरिङ सर्भिसेस प्रालिको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।


