तेस्रो निस्दी खेलकुद महोत्सव गल्धाको ढुंगानाबेशीमा शुरु

बोली खबर   २०८३-०१-२३


होम राई मगर
पाल्पा / बैशाख २३ । निस्दी गाउँपालिकाको संरक्षण र निस्दी खेलकुद बिकास समिति पाल्पाको आयोजनामा गल्धाको ढुंगानाबेशीमा तेस्रो खेलकुद महोत्सव शुरु भएको छ ।
        बैशाख २२ गते देखि २६ गते सम्म सन्चालन हुने महोत्सवलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्नु हुँदै सांसद श्रेष्ठले खेलले अनुशासित र व्यवसायिक बन्न सिकाएको बताउनुभयो । उहाँले निस्दीले राष्ट्रिय स्तरमै ख्याति प्राप्त खेलाडी उत्पादन गर्न सकेको स्मरण गर्नु हुँदै धैर्य र लगनशील बन्न खेलाडीहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो । बैशाख २२ गतेको पहिलो उद्घाटन खेल अन्तर्गत महिला तर्फको खेलमा आयोजक निस्दी खेलकुद बिकासले स्टेप रामपुर माथि ३-० को अन्तरमा जीत दर्ता गर्‍यो । उक्त खेलमा निस्दी खेलकुदका निशा महत खेलको उत्कृष्ट खेलाडीको रुपमा छनौट हुनुभयो ।

लीग सिस्टममा सन्चालन हुने आमन्त्रित क्लब स्तरीय पुरुष तथा खुल्ला पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहेको छ ।
    खेलकुद संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको उद्घाटन समारोहको सन्चालन होम राई मगरले गर्नु भएको हो ।