७९ औँ अन्तर्राष्ट्रिय विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको समन्वय तथा रामपुर नगरपालिका को आयोजनामा “मानवतालाई जीवित राखौँ” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा आनन्द निकेतन विद्याश्रम मा कक्षा ९ मा अध्ययनरत छात्रा कामना ढुङ्गानाले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
त्यसैगरी श्री भूपू सैनिक राइजिङ स्कूल कक्षा ९ की छात्रा सुष्मिता खत्री द्वितीय स्थान हासिल गर्न सफल भइन् भने नवदुर्गा माध्यमिक विद्यालय कक्षा ७ की छात्रा सर्वदा श्रेष्ठले तृतीय स्थान हासिल गरेकी छन्।
कार्यक्रममा मानवता, सेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीहरूले प्रभावशाली मन्तव्य प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला विकास गर्नुका साथै मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।




