भोजप्रसाद श्रेष्ठको ‘अठोट’ पुस्तकको परिचर्चा रामपुरमा सम्पन्न

बोली खबर   २०८३-०१-२७

पाल्पा । पाल्पाका साहित्यप्रेमी तथा बौद्धिक व्यक्तित्वहरूको सहभागितामा लेखक भोजप्रसाद श्रेष्ठद्वारा लिखित आत्मकथात्मक कृति ‘अठोट : सङ्कल्प, सपना र सङ्घर्षका यात्रा’ माथि रामपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

रामपुरमा जन्मिएर रुपन्देहीको बुटवललाई कर्मथलो बनाउँदै राजनीति र सामाजिक सेवामा सक्रिय रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा केही दिनअघि सार्वजनिक गरिएको उक्त पुस्तकबारे शनिबार रामपुरमा विशेष समीक्षा तथा चर्चा गरिएको हो ।

रामपुर साहित्यिक प्रतिष्ठान रामपुरको आयोजनामा न्यू होटल श्रीनगर बेझाँडमा सम्पन्न कार्यक्रममा पुस्तकका लेखक श्रेष्ठले आफ्ना जीवनका यथार्थ भोगाइ, संघर्ष, समाजसेवा र राजनीतिक यात्रालाई पुस्तकमा समेटिएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई यथार्थ जीवनसँग नजिक राख्दै समाज सुधार र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने उद्देश्यले पुस्तक लेखिएको उल्लेख गर्नुभयो ।

लेखक श्रेष्ठले जन्मथलो रामपुरबाट प्राप्त ऊर्जा र संस्कारकै कारण रुपन्देहीलाई कर्मथलो बनाएर समाज र राजनीतिमा सक्रिय हुने अवसर मिलेको स्मरण गर्नुभयो । “जीवनको महत्वपूर्ण समय समाज सेवा र राजनीतिमा बिताएँ, जनता माझ भन्नै पर्ने अनुभूति र अनुभवलाई पुस्तकमा उतारेको छु,” उहाँले भन्नुभयो ।

जन्मथलोमै आएर आफ्नै पुस्तकबारे चर्चा गर्न पाउँदा भावुक र खुशी भएको उल्लेख गर्दै उहाँले अग्रज, परिवार तथा समकालीन साथीभाइप्रति सम्मान व्यक्त गर्नुभयो । रामपुरले विगतदेखि नै विकास, सहकार्य र एकताको सन्देश दिँदै आएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई पनि सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पुस्तकमाथि समीक्षा गर्दै प्राध्यापक युवराज घिमिरेले ‘अठोट’ मा नेपालको गाउँदेखि शहरसम्मको संघर्ष, त्याग र सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो । लेखकले आफ्ना अनुभवलाई सरल र सहज भाषामा प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले जातीय विभेद, सामाजिक कुरीति र असमानताविरुद्धको चेतनाका रूपमा समेत पुस्तकलाई लिन सकिने धारणा राख्नुभयो ।

त्यस्तै, प्राध्यापक दयाराम भट्टराईले लोभ र मोहबाट माथि उठ्न सके मात्र समाजको नेतृत्व गर्न सकिने सन्देश पुस्तकले दिएको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व सांसद युवराज खनालले भोजप्रसाद श्रेष्ठलाई रामपुरमा जन्मिएर बुटवलमा स्थापित बहुआयामिक व्यक्तित्वका रूपमा चित्रण गर्दै उहाँका सामाजिक, राजनीतिक तथा व्यावसायिक अनुभव भावी पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले ‘अठोट’ लाई भावी पुस्ताका लागि इतिहासको दस्तावेजका रूपमा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष कृष्णकला भण्डारी, दलबहादुर गुरुङ, अर्जुन श्रेष्ठ, नोलराज भण्डारी र नारायण समर्पणले आ–आफ्ना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष हुमा देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन संस्थापक अध्यक्ष बासुदेव ढकालले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, लेखक, बुद्धिजीवी, लेखकका समकक्षी साथीभाइ तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उल्लेखनीय छ, ‘अठोट’ पुस्तकको गत वैशाख २० गते बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक लोकार्पण गर्नुभएको थियो ।