तेस्रो निस्दी कपको उपाधि पिरामिड हङकङ र आयोजक निस्दी खेलकुदलाई

बोली खबर   २०८३-०१-२७


होम राई मगर
पाल्पा / २७ बैशाख । तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्ट्राक्सन हङकङ र आयोजक निस्दी खेलकुद बिकास समितिले जितेको छ । बैशाख २२ गते देखि निस्दी ढुंगानाबेशी खेलमैदानमा शुरु भएको क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनलमा पुरुष तर्फ पिरामिड कन्टाक्सन हङकङ र महिला तर्फ निस्दी खेलकुद बिकास समितिले जितेको हो ।
        आमन्त्रित क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा पिरामिड कन्ट्राक्सन हङकङले शाही फलफुल स्याङ्जालाई २५-२३, २५-१५, २२-२५ र २५-१७ को अन्तरमा पराजित गरेको हो । त्यसैगरी मण्डली युवा क्लब पाल्पाले तृतीय र जीएम समाज नवलपुरले सान्त्वना स्थान प्राप्त गरेका थिए । बिजेता टीमले नगद १ लाख ५५ हजार ५५५ र उपविजेता टीमले नगद १ लाख ५ हजार ५५५ तृतीय हुने टीमले नगद ५५ हजार ५५५ र सान्त्वना टीमले नगद २५ हजार ५५५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी पिरामिड कन्ट्राक्सनका अशोक श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए । श्रेष्ठले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । शाही फलफुल स्याङ्जाका सुगम सुनार बेस्ट सर्भर, बेस्ट सेटर विवश खड्का, बेस्ट स्पाइकर जीवन गुरुङले प्राप्त गरे भने पिरामिड हङकङका राजन दर्लामी बेस्ट डिफेन्डर र हिमाल सुनारीले बेस्ट ब्लकरको विधागत पुरस्कार प्राप्त गरे ।
यसैगरी आमन्त्रित महिला भलिबल प्रतियोगितामा आयोजक निस्दी खेलकुद बिकास समितिले बागलुङ भलिबल क्लबलाई २५-१८, २५-१३ र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । विजयी टीमले नगद ५० हजार उपविजेता टीमले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने तृतीय स्थान प्राप्त गर्ने स्टेप रामपुरले २० हजार र सान्त्वना स्थान पृथ्वीनगर नवलपुरले नगद १० हजार प्राप्त गर्न सफल भए ।
      पुरस्कार वितरण तथा समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले खेलकुदको बिकासका लागि निस्दी गाउँपालिकाले प्रत्येक वर्ष योजना तथा कार्यक्रम सन्चालन गरेको बताउनु हुँदै युवाहरुको ध्यान सामाजिक बिकास तिर नि हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले खेलकुदले आपसी सहकार्य र उद्देश्य पूरा गर्नमा तल्लीन रहन सिकाउने बताउनुभयो । पुरस्कार वितरण पश्चात् साझ राष्ट्रिय कलाकारहरु शान्तरानी परियार, हुम गैरे लगायत स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।


निस्दी खेलकुद बिकास समितिको आयोजना र निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।