रामपुर नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरूसँग  छलफल

बोली खबर   २०८३-०२-०१


पाल्पा, रामपुर नगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरूसँग  छलफल गरेको छ । सरकारको निर्देशन अनुसार सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण, सुकुम्बासी समस्या समाधान संगै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न बिहिबार छलफल सहित अन्तरक्रिया गरेको हो 

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षता र लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले रामपुरमा अन्य जग्गा भन्दा अव्यवस्थित जग्गाको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । उहाँले जग्गा संरक्षणको नाममा भत्काउनु भन्दा यसलाई व्यवस्थित रुपमा समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले फरक फरक किसिमका जग्गाको व्यवस्थापन एकै किसिमले गर्न नसकिने भन्दै उचित समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । स्थानीय तहलाई आदेश दिएर मात्र नहुने भन्दै सरकारले नीतिगत व्यवस्था गरी काम गर्नु पर्ने बताउनुभयो । सबै जग्गाको व्यवस्थापन गरी पालिकाको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित , सुकुम्बासी तथा सार्वजनिक स्थानमा बनेका संरचनालाई नगरपालिकाको मातहतमा ल्याउने बताउनु भएको छ । उहाँले  भत्काएर मात्र समस्याको समाधान नहुने भन्दै  सार्वजनिक स्थानमा बनेका भवन संरचनालाई नगरपालिकाको मातहतमा सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो । थापाले  जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती र सुकुम्बासी बस्तीमा रहेका नागरिकको उचित व्यवस्थान गरेर मात्र स्थानान्तरण गरिने बताउनुभयो । उहाँले सार्वजनिक स्थानमा बनेका संरचना हिजोको सरकारको अनुमति र निर्णय प्रमाणका आधारमा बनेको भन्दै यसको व्यवस्थापनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्रप्रसाद भट्टराईले विभिन्न सङ्घसंस्था, सार्वजनिक जग्गामा रहेको रहेका वास्तविक सुकुम्बासीको पहिचान गरि व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।  सुकुम्बासीहरूको लागि कुनै निश्चित स्थानमा एकीकृत बस्ती विकास गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।  तत्कालीन रामपुर गाउँ विकास समितिको बैठकको निर्णय अनुसार प्रतिष्ठान भवनहरू निर्माण भएको जानकारी गराउँदै भड्काउने भन्दा पनि राज्यलाई आम्दानी हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । यस्तै नेकपा एमालेका रामपुर नगर कमिटी अध्यक्ष लिल बहादुर गाहाले अव्यवस्थित जग्गा समस्याको रुपमा रहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्नुपर्ने धारणा राख्नुभयो । वास्तविक सुकुम्बासीको लागि  सोही स्थानमा मापदण्ड अनुसार प्रधानको लागि सरकारलाई अनुरोध गर्न आग्रह गर्नुभयो। नगर क्षेत्रमा पार्टी कार्यालय भनेर भवनहरू निर्माण नभएको र विभिन्न प्रतिष्ठानको रुपमा निर्माण भएको संरचनालाई हटाउने भन्दा पनि व्यवस्थित गर्नुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव जोगन भुजेलले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने र पार्टीको सञ्चालनमा रहेका प्रतिष्ठान भवनहरू नगरपालिकाको स्वामित्वमा ल्याउनुपर्ने सुझाव राख्नुभयो ।सार्वजनिक स्थानमा निर्माण भएका संरचना भत्काउनु भन्दा पनि व्यवस्थापन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका रामपुर नगर अध्यक्ष फणेश्वर गौतमले नगर भित्र अव्यवस्थित जग्गाको समस्या जटिल रहेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि पहल गर्नु पर्ने, नगरपालिका क्षेत्रमा सार्वजनिक स्थलमा निर्माण भएका प्रतिष्ठान भवनहरु नगरपालिकाको निगरानी राख्नु पर्ने धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका नगर अध्यक्ष बृहस्पति अर्यालले पनि सार्वजनिक स्थानमा निर्माण भएका प्रतिष्ठान भवनहरू बाट सङ्कलन भएको घर बहाल  नगरपालिकाले अशुल्नु पर्नेमा जोड दिनुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले सुकुम्बासी भन्दा पनि अव्यवस्थित बसोबासीको समस्या रहेको जानकारी गराउँदै वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्ने बताउनुभयो । कालीगण्डकी करिडोरको सडक मापदण्डले सडक दायाँबायाँ रहेका स्थानीयलाई सुकुम्बासी बनाउने अवस्था रहेको बताउँदै त्यसका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो। सार्वजनिक जग्गा संरक्षण भन्दा पनि उपयोग महत्वपूर्ण रहेको बताउनुभय‍ो । वडा नम्बर ३ का वडाध्यक्ष दामोदर पाठकले जग्गाको पुनः वर्गीकरण गर्नुपर्ने, जग्गामा निर्माण भएका संरचनाहरूलाई पालिका माततमा ल्याएर कर सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।  रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले सार्वजनिक जग्गाको संरक्षणका लागि वडाले विगत तीन वर्षदेखि अभियानको रुपमा जानकारी गराउनुभयो। लालपुर्जा भन्दा बाहेक अतिक्रमित जग्गामा बनेको संरचना भत्काउनुपर्ने, संयम भएर रामपुरको भविष्य निर्माणका लागि सकारात्मक सुझावको आवश्यकता रहेको बताउनुभयो । वडा नम्बर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले वडाले जग्गा सिमाङ्कनको काम गर्ने तयारी गरेको जानकारी दिनुभयो । सार्वजनिक जग्गामा रहेका घर टहराहरू व्यवस्थापन पश्चात् मात्र भत्काउनुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिका ७ का वडाध्यक्ष दोबराज तिवारीले सुकुम्बासी समस्या समाधानका लागि थप अध्ययन आवश्यक रहेको बताउनुभयो । वडा नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्यले सार्वजनिक जग्गाभित्र पर्ने संरचनाहरू सूचना र समय दिएर हटाउनुपर्ने बताउनुभयो । सरकार फरक भएपछि फरक निर्देशन आउँदा सुकुम्बासी समस्या समाधान झन्झटिलो बन्दै गएको बताउनुभयो। रामपुर नगरपालिकाका सल्लाहकार हुमनाथ न्यौपानेले सुकुम्बासी तथा व्यवस्थित जग्गाको समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गरिब विपन्न परिवारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । नगर सल्लाहकार मित्रलाल कँडेलले सुकुम्बासीको वडागत लगत सङ्कलन गर्नुपर्ने, र उनीहरूको लागि बसिरहेको स्थानमा जग्गा दिन उपयुक्त हुने बताउनुभयो। संघसंस्थाको सञ्चालनका लागि तत्कालीन समयमा बिक्री भएको अव्यवस्थित जग्गाको सहमतिमै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।   नगर सल्लाहकार दिनेश खनालले सुकुम्बासीलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दर्ताका लागि प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पनि प्रतिष्ठान भवनलाई पालिका मातहतमा ल्याउनुपर्नेमा बताउनुभयो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य, नगर सल्लाहकार, राजनीतिक दलका पदाधिकारीहरूको सहभागिता रहेको थियो