रामपुर साकोसद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना, १९ औँ स्थापना दिवस विविध कार्यक्रम सहित सम्पन्न

बाेलीखबर   २०८३-०२-०१

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १९ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि “रामपुर साकोस छात्रवृत्ति अक्षयकोष” स्थापना गर्दै श्री दरैठाँटी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई अक्षयकोष हस्तान्तरण गर्नुभएको थियो । विद्यालय र संस्थाको बराबर लागत सहभागितामा स्थापना गरिएको उक्त अक्षयकोषमार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले सहकारी संस्थाले केवल वित्तीय कारोबारमा सीमित नभई शिक्षा, सामाजिक विकास तथा समुदाय सशक्तिकरणमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा गरिएको लगानीले भविष्य निर्माण गर्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत अक्षयकोष स्थापना गरिएको उल्लेख गर्नुभयो ।

प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले संस्थाले स्थापना गरेको अक्षयकोषले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

रामपुर साकोसले गत वर्ष पनि रामपुर नगरपालिका–३ स्थित जनविकास माध्यमिक विद्यालय, रजघरामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको थियो । संस्थाले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसैबीच स्थापना दिवसकै अवसरमा संस्थाको सभा हलमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ ले वर्तमान सहकारी नीति, सहकारी क्षेत्रमा देखिएका चुनौती, सुशासन तथा वित्तीय अनुशासनका विषयमा धारणा राख्नुभएको थियो ।

उहाँले पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण सम्पूर्ण सहकारी क्षेत्र नै बदनाम हुने अवस्था सिर्जना भएकाले अब सहकारी संस्थाहरू थप जिम्मेवार, पारदर्शी र सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो । “सहकारीप्रति नागरिकको विश्वास जोगाउनु अहिलेको मुख्य आवश्यकता हो, त्यसका लागि संस्थागत सुशासन, पारदर्शिता र सदस्य हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।

श्रेष्ठले सहकारी संस्थाहरूले केवल बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, उत्पादन तथा समुदाय विकासका क्षेत्रमा समेत लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले रामपुर साकोसले छात्रवृत्ति अक्षयकोष स्थापना गरेर शिक्षा क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा सदस्यहरूले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

संस्थाले १९ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, संस्थापक, पूर्व तथा वर्तमान सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, कर्मचारी व्यवस्थापन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।