महायज्ञबाट २३ लाख बढी बचत, विद्यालयको विकासमा खर्च गरिने

बोली खबर   २०८३-०२-०६

पाल्पा जिल्लाको रामपुर क्षेत्रमा रहेको एक विद्यालयले सञ्चालन गरेको श्रीमद् भागवत पितृ उद्धार धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञबाट २३ लाखभन्दा बढी रकम बचत भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गत वैशाख १ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको हो ।

मूल आयोजक समितिले मंगलबार रामपुरमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट कुल २३ लाख ८४ हजार १५८ रुपैयाँ बचत भएको जानकारी दिएको हो । विद्यालयका सहायक प्रधानाध्यापक तथा आर्थिक व्यवस्थापन समितिका संयोजक होमबहादुर रानाले महायज्ञमा विभिन्न माध्यमबाट ४१ लाख १४ हजार ८९२ रुपैयाँ संकलन भएको बताउनुभयो । उहाँका अनुसार रसिदमार्फत १५ लाख ६९ हजार ७०६, क्यूआर कोडमार्फत २३ लाख ३३ हजार २८३, चेकमार्फत १ लाख ४१ हजार ३ रुपैयाँ, धान बिक्रीबाट ५० हजार तथा कलश बिक्रीबाट २० हजार ९ सय रुपैयाँ संकलन भएको हो ।

महायज्ञ सम्पन्न गर्न १७ लाख ३० हजार ७३४ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । खर्चमध्ये दान, दक्षिणा तथा सम्मानमा सबैभन्दा बढी ८ लाख २५ हजार १ सय रुपैयाँ खर्च भएको थियो । त्यस्तै यातायात, पूजा सामग्री, स्टेशनरी, खाजा व्यवस्थापन, प्रचारप्रसार, इन्धन, श्रङ्गार तथा अन्य व्यवस्थापनमा समेत रकम खर्च गरिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक एवं मूल आयोजक समितिका सचिव भेषबहादुर अधिकारीले महायज्ञ सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दानदाता, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी, सामाजिक संघसंस्था तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले संकलित रकमलाई विद्यालयको दीर्घकालीन शैक्षिक सुधार तथा प्रविधिमैत्री वातावरण निर्माणमा योजनाबद्ध रूपमा उपयोग गरिने बताउनुभयो ।

निस्दी गाउँपालिकाका शिक्षा समिति सदस्य तथा बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले महायज्ञले आर्थिक सहयोग मात्रै नभई विद्यालय र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाएको उल्लेख गर्नुभयो । उहाँले यस कार्यक्रमले शिक्षा, धर्म र संस्कृतिप्रति समुदायको सहभागिता र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समिति सदस्य धनीमाया रानाले महायज्ञ सफल बनाउन महिला समूह, स्थानीय समाजसेवी, शुभेच्छुक तथा विभिन्न संघसंस्थाको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले दानदाताको विश्वासलाई कायम राख्दै विद्यालयको समग्र विकासमा पारदर्शी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, सहसचिव दानु हिस्की, केन्द्रीय परिषद् सदस्य सीता डोटेल लगायतले महायज्ञ ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै प्राप्त रकमको पारदर्शी र प्रभावकारी सदुपयोग गर्न सुझाव दिनुभयो ।

बेझाँडस्थित होटेल हिडन हेभन को सभाहलमा सम्पन्न पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समिति सदस्य धनीमाया रानाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक तथा प्रचारप्रसार समिति संयोजक चेतन पुलामीले गर्नुभएको थियो । महायज्ञमा १८ पुराणका सरस प्रवक्ता नारायण न्यौपाने मार्फत कथा प्रवचन गरिएको थियो ।