यात्रा केवल गन्तव्यमा पुग्ने साधारण प्रक्रिया होइन रहेछ, यो त अनुभूति, सम्बन्ध, संस्कृति र प्रकृतिसँग गरिने गहिरो संवाद रहेछ भन्ने गहिरो अनुभूति हामीले यही जेठ १० र ११ गतेको घान्द्रुक यात्रामा महसुस गर्यौँ। पाल्पा रामपुरबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको हाम्रो आठ सदस्यीय पत्रकार टोलीको यो यात्रा जीवनका स्मृतिहरूमा सधैँ अमिट रहने एक भावनात्मक, सांस्कृतिक र साहित्यिक गाथा बन्यो।
रामपुर आफैँमा पहाडको काखमा अडिएको सुन्दर उपत्यका हो। जेठको चर्को गर्मीले जमिन तातिरहेको थियो, हावामा पनि तातोपन मिसिएको थियो। तर प्रकृतिको रहस्य यति गहिरो रहेछ कि केही घण्टाको यात्रामै हामी तातो मौसमबाट चिसो हावाको आलिङ्गनमा प्रवेश गर्यौँ। मानौँ प्रकृतिले नै हाम्रो यात्राको स्वागतमा मौसमको पानाहरू पल्टाइदियो।
बिहान स्कार्पियोमा हाम्रो यात्रा सुरु भयो । गाडीभित्र लोकधुनसँगै हाँसो, ठट्टा र साथीहरूको रमाइलो संवादले यात्रालाई जीवित बनाइरहेको थियो। पत्रकारिताको व्यस्त जीवनबाट केही समय विश्राम लिएर प्रकृतिको काखमा निस्किएको यो यात्रा सबैका लागि आत्मिक शान्ति र उत्साहको स्रोत बन्यो।
डेढगाउँको बिहान र ग्रामीण स्वाद
बौद्धिकालिका गाउँपालिका–१ डेढघाम पुग्दा बिहानको घाम पहाडको टुप्पोबाट विस्तारै झर्दै थियो। वरिपरि हरिया डाँडाहरू, गाउँघरको शान्त वातावरण र चिसो बिहानको हावाले मनलाई ताजगीले भरिदिएको थियो। त्यहीँ सानो होटलमा हामीले बिहानको खाजा खायौँ। तातो चिया, गाउँघरको स्वाद मिसिएको आलु,चटनी र यात्राको सुरुआती उत्साहले त्यो क्षणलाई झन् आत्मीय बनाइदियो।
त्यसपछि कालीगण्डकी नदि पार गर्दै अघि बढ्दा नदीको गर्जनले पहाडसँग आफ्नै भाषा बोलिरहेको जस्तो लाग्थ्यो। हरियाली डाँडाहरू, चट्टानमा ठोक्किँदै बग्ने पानी र घुमाउरा सडकले यात्रालाई काव्यात्मक बनाइरहेका थिए।
पोखरा, फेवाताल र प्रकृतिको लुकामारी
पोखरा पुगेर हामीले होटल सहयात्री पार्टी प्यालेसमा खाना खायौँ। लामो यात्रापछि तातो परिकारको स्वादले शरीरलाई मात्र होइन, मनलाई पनि आराम दिएको अनुभूति भयो। होटलको वरिपरि देखिने पोखराको चहलपहल, हल्का चिसो हावा र यात्रुहरूको आवतजावतले शहरलाई जीवन्त बनाइरहेको थियो।
त्यसपछि हाम्रो यात्रा अझ गहिरो अनुभूतितर्फ मोडियो।
पोखरा उपत्यकामा प्रवेश गर्दा नै शहरले हामीलाई आफ्नो सौन्दर्यमा हराउन बाध्य बनायो। विश्व शान्ति स्तूप बाट देखिएको फेवाताल बादल र कुहिरोसँग लुकामारी खेलिरहेको थियो। कहिले ताल नीलो ऐना जस्तै चम्किन्छ, कहिले बादलको घुम्टोभित्र हराउँछ—मानौँ प्रकृतिले नै आफ्नो रूप फेरिरहन्छ।
त्यसपछि पुम्दीकोट शिव मूर्ति पुग्दा हामी एक प्रकारको आध्यात्मिक मौनतामा डुब्यौँ। विशाल शिव प्रतिमा पहाडको टुप्पोमा उभिएर सम्पूर्ण पोखरालाई आशीर्वाद दिइरहेको जस्तो लाग्थ्यो। तल फैलिएको फेवाताल, वरिपरिका हरिया पहाड र टाढा देखिने हिमाली रेखाहरूले यो स्थानलाई केवल पर्यटकीय स्थल होइन, आस्था र सौन्दर्यको संगम बनाइदिएको थियो।
त्यहीँबाट टाढा देखिने माछापुच्छ्रे हिमाल बादलसँग लुकामारी खेलिरहेको थियो। कहिले पूर्ण रूपमा देखिने, कहिले कुहिरोभित्र हराउने—मानौँ आकाश र हिमालबीच कुनै मौन प्रेम संवाद चलिरहेको छ। त्यो दृश्य शब्दभन्दा पर, केवल अनुभूतिमा मात्र कैद हुने खालको थियो।
पोखराको फेवातालको पानीमा हिमालको प्रतिबिम्ब देखिन्थ्यो। हावाको हल्का झोकाले पानी तरंगित हुन्थ्यो र माछापुच्छ्रे आफ्नै प्रतिबिम्बसँग खेलिरहेको जस्तो लाग्थ्यो। त्यो क्षणमा लाग्थ्यो—प्रकृति आफैँमा एक जीवित कविता हो।
बिरेठाँटीको स्वाद र मोदी खोलाको संगीत
साँझतिर हाम्रो यात्रा बिरेठाँटीतर्फ मोडियो। मोदी खोलाको गर्जनसँगै त्यो ठाउँले हामीलाई स्वागत गरिरहेको थियो। खोलाको तीव्र बहाव, चट्टानमा ठोक्किँदै उड्ने सेता फिँज र वरिपरिका हरिया जंगलले वातावरणलाई अत्यन्त जीवन्त बनाइरहेका थिए।
त्यहीँ स्थानीय अतिथि होटलमा हामीले ताजा माछा र स्थानिय केरा स्वाद लियौँ। खोलाको चिसो हावा, पानीको निरन्तर आवाज र साँझको मधुर वातावरणले त्यो भोजनलाई केवल खाजा होइन, प्रकृतिसँगको आत्मीय भेट बनाइदियो। यात्राको थकान पनि त्यहीँको वातावरणसँगै बगेर हराएझैँ लाग्यो।
बिरेठाँटीदेखि घान्द्रुक—प्रकृतिको काव्यिक मार्ग
बिरेठाँटीबाट अघि बढ्दा मोदी खोला आफ्नो सम्पूर्ण सौन्दर्य र उग्रतासहित हाम्रो साथमा थियो। चट्टानमा ठोक्किँदै सेतो फिँज उडाउँदै बगिरहेको खोला, वरिपरिका हरिया जंगल र साना बस्तीहरूले त्यो स्थानलाई जीवन्त बनाइरहेका थिए।
उकालो सुरु भएपछि बाटो साँघुरो हुँदै गयो तर सौन्दर्य अझ गहिरिँदै गयो। हरिया पहाडहरू गोधुलि साझँको हिमालको भुल्काई बादलसँग लुकामारी खेलिरहेका थिए। कहिले कुहिरोले पूरै ढाक्ने, कहिले अचानक खोल्ने—मानौँ आकाश र पृथ्वीबीच कुनै रहस्यमय खेल चलिरहेको छ।
जति माथि पुग्दै गयौँ, चिसो हावा अझ गहिरो हुँदै गयो। साना झरनाहरू, भिजेका ढुंगा, र हरियालीले यात्रालाई केवल दृश्य होइन, अनुभूति बनाइदियो। बाटोभरि प्रकृतिले आफ्नै मौन भाषा बोलिरहेको जस्तो लाग्थ्यो।
घान्द्रुक नजिकिँदा गाउँ कुहिरोको चादरभित्र हराइरहेको थियो। घरहरू बादलभित्र लुकेका थिए, र टाढा देखिने पहाडहरू रहस्यमय छायाजस्तै लागिरहेका थिए।
घान्द्रुक—चिसो हावाको मौन कविता
साँझ करिब सात बजे हल्का वर्षासहित हामी घान्द्रुक पुग्यौँ। रामपुरको तातो हावाबाट आएका हामी एकैछिनमा हिमाली चिसोको मौन आलिङ्गनमा हरायौँ। इमि ख्ष्ििबनभ ष्लल होटल पुग्दा शरीर थाकेको थियो, तर मन भने प्रकृतिको सौन्दर्यले भरिएको थियो।
त्यो रात हाम्रो बसाइ केवल आराम थिएन, त्यो त सांगीतिक उत्सव थियो। होटलमा चितवनका पाहुना र भारतीय पर्यटकहरूसँग मुस्कान र हाँसो साझा हुँदै थियो। भाषा फरक भए पनि भावनाको भाषा एउटै थियो।
इमान भाइ र दानुको नृत्यले वातावरणलाई झन् रमाइलो बनायो। रमा दिदीको ऊर्जा र उत्साहले कोठा नै संगीतमय बनायो। बासु दाइ निरन्तर हाँसिरहनुहुन्थ्यो।
त्यो रात घान्द्रुकको चिसो हावाले हाम्रो हाँसोसँगै न्यानोपन सिकिरहेको जस्तो लाग्थ्यो।
गुरुङ संस्कृति र ढकायो गुन्द्रुक
भोलिपल्ट बिहान हामी गुरुङ होमस्टेतर्फ लाग्यौँ। ढुंगाले बनेका मौलिक घर, परम्परागत पोसाक, र सरल जीवनशैलीले हामीलाई इतिहासको कुनै पानामा पुर्याएझैँ अनुभूति गरायो।
यहाँको विशेषता मध्ये ३००० मिटरभन्दा माथि पाइने जडीबुटीबाट बनाइने परम्परागत “ढकायो गुन्द्रुक” को सुगन्ध र स्वादले गाउँको मौलिकता झन् गहिरो बनाएको थियो। साथै यहाँका धेरै युवा विदेश नजाने, र गएकाहरु पनि पछि फर्केर आफ्नै गाउँमै आएको कुराले त सुन्दा घान्द्रुक केवल दृश्य होइन, आत्मनिर्भर जीवनको प्रेरणास्थल जस्तो लाग्यो । दुर्गेश भाई र होटल सन्चालक विच मिठा कुराकानि ले त्यस ठाउँको विषयमा अरु ज्ञान थपिएको थियो ।
होमस्टेका दाइहरूसँग कुराकानी गर्दा हामीले त्यहाँको जीवन बुझ्ने अवसर पायौँ। ढुङ्गाले बनेका घरहरू, परम्परागत निर्माण शैली र श्रमिकहरूको मेहनतले गाउँको मौलिकता जोगिएको थियो। ढुङ्गा फुटाउँदै काम गरिरहेका श्रमिकहरूको पसिनामा घान्द्रुकको सुन्दरता लुकेको थियो।
गाउँभित्र सवारी साधन निषेध थियो। मोटरसाइकल, ट्र्याक्टर वा टिपर चलाउन नपाइने नियमले वातावरण शान्त र स्वच्छ बनाएको थियो। तल पार्किङबाट सामान खच्चडमार्फत माथिसम्म पुर्याइने दृश्यले परम्परा र प्रकृतिको सन्तुलन झल्काइरहेको थियो । भने रोजगारिका हिसावले पनि सवैलाई अवसर दिईरहेको थियो ।
हामीले हिमाल देख्ने ठूलो आशा बोकेका थियौँ, तर अन्नपूर्णलगायत हिमशृंखलाहरू कुहिरोको घुम्टोभित्र लुकेर बसे। कहिलेकाहीँ हल्का झुल्किने हिमालको रेखाले मात्र मनलाई मौन प्रेम दिएको जस्तो लाग्यो कहिले त यी हिमालहरु हामी सगँ लुकामारी गरि जीस्काई रहेका ।
फर्कने यात्रा
पर्वतको कुस्मा आईपुगेर खाना खायौँ र बागलुङ प्रवेश गर्यौ । बागलुङ कालिका भगवतिको दर्शन गरी कालीगण्डकी करिडोर हुँदै अघि बढ्यौँ । बाटोभरि गीत, हाँसो र सम्झनाले यात्रालाई अझ जीवन्त बनाइरहेको थियो ।
बीच बाटोमा होटलमा बसेर पिरो नुन सगँको काक्रा खाँदा यात्राको थकान फेरि मिठो विश्राममा बदलियो । पहाडी होटलको सरल आतिथ्यता, स्थानीय परिकारको स्वाद र यात्राको अनुभव साटासाटले सम्झनायोग्य बनाइदियो । वेला वेला कृष्ण दाई उपनाम पनि मुस्कान सवैमा मुस्कान र्छन माहिर, शुनसान भयो भने मौनता तोडिदिने अझ बेला बेला उहाँलाई आएको फोन हाम्रो यात्राको कथा पनी वनिरहेको थियो ।
कालीगण्डकी ॅए’ जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा पुग्दा प्रकृति र विकासबीचको अद्भुत सन्तुलन देखियो—बगिरहेको नदीलाई शक्तिमा रूपान्तरण गर्ने मानव प्रयास आफैँमा सभ्यताको गहिरो कथा जस्तो लाग्यो । विहान हिमालको काखमा रमाएका हामी कालिगण्डकी तट सम्म आईपुग्दा चिसो उखुको स्वादले शरिरलाई नयाँ उर्जा दिएको थियो । साँझ करिब सात बजे रामपुर फर्किँदा हाम्रो यात्रा सम्पन्न भयो। यात्रामा मुस्कान मात्र छर्ने मिन भाई खासै वोलेनन तर हामा कुरा रमाईलो मान्दै सुनिरहेका थिए विच विचमा हासो कम हुदाँ सकियो कुरा भन्दै व्याङ्गपनि दिन्थे ।
अन्त्यमा
यो यात्रा केवल घुमघाम थिएन, यो त मित्रता, आत्मीयता, प्रकृति, संस्कृति र भावनाको अमिट कविता हो। आठ जनाको हाम्रो टोलीले मिलेर यो यात्रा सम्पन्न मात्र गरेन, स्मृतिमा सदाका लागि अंकित गर्यो।
घान्द्रुकले हामीलाई दृश्य होइन, जीवन बुझायो—प्रकृतिको सम्मान, संस्कृतिको संरक्षण र साना क्षणभित्र लुकेको विशाल आनन्द।
यो यात्रा समाप्त भयो, तर यसको गूञ्जन हाम्रो मनको गहिराइमा सधैँ गुञ्जिरहनेछ—फेवातालको लहरझैँ, माछापुच्छ्रेको मौन मुस्कानझैँ, मोदी खोलाको गर्जनझैँ, र घान्द्रकको कुहिरोभित्र हराएको एउटा सुन्दर सपना झैँ ।







