विदेशको मरुभूमिदेखि आफ्नै बारीको हरियालीसम्म
गण्डकी बेंसीमै पहिलो मेवा खेती, रामप्रसादको माटोसँग जोडिएको नयाँ जीवन
आनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ’
रामपुर पाल्पा ।
कुनै समय थियो—रामप्रसाद भट्टराईको हातमा माटोभन्दा पासपोर्ट बढी चल्थ्यो। राम्रो आम्दानीको खोजीमा उनी भारत पुगे, त्यसपछि दुबई। परदेशमा पसिना बगाए, कमाए र केही सपना बोकेर आफ्नै गाउँ फर्किए। फर्किएपछि पाल्पाको रामपुरमा कपडाको पसल खोले। व्यापार पनि चल्यो, जीवन पनि आफ्नै गतिमा अघि बढिरह्यो।
तर जीवनले अचानक अर्को मोड देखायो।
शरीरमा ॅसुगर’ देखिएपछि रामप्रसादले आफ्नो दिनचर्या मात्र होइन, जीवनलाई हेर्ने दृष्टिकोणसमेत बदल्न थाले। लामो समय अरूको भूमिमा पसिना बगाएका उनी विस्तारै आफ्नै माटोतिर फर्किए। अनि सुरु भयो—माटोसँगको नयाँ सम्बन्ध।
आज चापाकोट नगरपालिका–८ को बारीमा पुग्दा रामप्रसादलाई विदेशमा बिताएका दिनभन्दा आफ्नै बारीमा बितेका क्षण बढी प्रिय लाग्छन्। करिब चार रोपनी क्षेत्रफलमा कृषि कर्म गरिरहेका उनले गण्डकी बेंसीमै पहिलो पटक उन्नत जातको मेवा खेतीको प्रयास गरेका छन्।
पहिलो प्रयासमै बारीमा मेवा लटरम्म फल्यो। उत्पादनले बजार पनि पायो। मेवा बिक्रीबाट उनले ५० हजार रुपैयाँभन्दा बढीको कारोबार गरिसकेका छन्। नयाँ बाली, नयाँ अनुभव र पहिलो प्रयासमै प्राप्त भएको सफलता—रामप्रसादका लागि यो केवल आम्दानीको हिसाब होइन, आफ्नै माटोमा सम्भावना देखिएको क्षण हो।
एउटा बिरुवासँगै पलाएको सपना
मेवाको बिरुवा रोप्दा उनलाई थाहा थिएन—पहिलो वर्षमै यति राम्रो उत्पादन होला कि नहोला। नयाँ खेती भएकाले चुनौती थिए। बजारको चिन्ता थियो। रोग–कीरा र मौसमको जोखिम पनि थियो।
तर बारीमा बिरुवा हुर्किंदै गए। हरिया पातबीच मेवाका फल देखिन थाले। फल पाक्दै गएसँगै रामप्रसादको आत्मविश्वास पनि बढ्दै गयो। गण्डकी बेंसीको हावापानी र जमिनमा नयाँ सम्भावना खोज्ने प्रयासका रूपमा सुरु भएको मेवा खेती अहिले उनको परिचय बन्न थालेको छ। पहिलो पटक भएकाले धेरै कुरा सिक्दै छु,’ उनी भन्छन्, ॅउत्पादन राम्रो भयो, बजार पनि राम्रो पाइयो भने अझ विस्तार गर्ने सोच छ।’
मेवासँगै बारीमा बोडी, खुर्सानी, टमाटर, काक्रा लगायतका तरकारी पनि छन्। एउटै जमिनमा फरक–फरक बाली लगाएर उनले कृषि कर्मलाई आम्दानीको विविध स्रोत बनाएका छन्।
विदेशले पैसा दियो, माटोले शान्ति
भारत र दुबईमा रहँदा रामप्रसादले पैसा कमाए। आफ्नै ठाउँमा व्यापार गर्दा व्यवसायको अनुभव पाए। तर कृषि कर्ममा आएपछि भने उनले आफूले खोजिरहेको अर्को कुरा भेट्टाए—मनको शान्ति।
ॅविदेशमा कमाइ त हुन्छ, तर आफ्नो ठाउँको आनन्द अर्कै हुन्छ,’ उनी भन्छन्, ॅमाटोको माया लागेपछि कृषि नै रमाइलो लाग्न थाल्यो। आनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ।’
स्वास्थ्यमा आएको परिवर्तनपछि कृषि कर्ममा सक्रिय हुनुले उनलाई आफ्नो शरीर र मन दुवैलाई व्यस्त राख्ने अवसर दिएको छ। बिहान बारीमा पुग्ने, बिरुवाको अवस्था हेर्ने, गोडमेल गर्ने, पानीको व्यवस्थापन मिलाउने र उत्पादन बजारसम्म पुर्याउने उनको दिनचर्याको हिस्सा बनेको छ।
कुनै समय विदेशमा अरूका लागि काम गरेका रामप्रसाद अहिले आफ्नै बारीका लागि काम गर्छन्। फरक यति हो—पहिले पसिनाको मूल्य अरूको व्यवसायले तय गर्थ्यो, अहिले आफ्नै माटोले।
सन्तान टाढा, माटो नजिक
रामप्रसादका दुई छोरा र एक छोरी छन्। एक छोरा अस्ट्रेलियामा छन्। अर्का छोरा र छोरी काठमाडौंमा अध्ययनरत छन्।
सन्तानहरू आफ्नो भविष्य बनाउन टाढा छन्। तर रामप्रसादको भविष्य भने आफ्नै गाउँको बारीमा छ।
कृषि कर्ममा उनलाई श्रीमतीको साथ छ। घरको जिम्मेवारी सम्हाल्दै श्रीमतीले बारीको काममा पनि सहयोग गर्छिन्। परिवारका सदस्यहरू आ–आफ्नो बाटोमा अघि बढिरहे पनि रामप्रसादको दिनचर्या भने माटो, बिरुवा र उत्पादनसँग जोडिएको छ।
नयाँ पुस्तालाई एउटा सन्देश
रामप्रसादको कथा केवल मेवा खेती सुरु गरेको कथा होइन। यो विदेश गएर फर्किएको एउटा पुस्ताले आफ्नै गाउँमा सम्भावना खोज्न थालेको कथा हो। रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता र आकर्षणबीच आफ्नै ठाउँमा कृषि व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण उनी आफैँ बनेका छन्। चार रोपनी जमिनमा सुरु भएको उनको प्रयासले एउटा प्रश्न पनि जन्माएको छ—हामीले आफ्नो माटोलाई कति चिनेका छौँ?
हामी रोजगारीका लागि टाढा जान्छौँ, तर कहिलेकाहीँ अवसर भने घरकै आँगनमा उभिएको हुन्छ। त्यसलाई देख्ने आँखा र प्रयोग गर्ने आँट चाहिन्छ। रामप्रसादले त्यही आँट गरेका छन्। गण्डकी बेंसीमा पहिलो पटक उन्नत जातको मेवा खेतीको प्रयोग गरेर उनले केवल फल फलाएका छैनन्, सम्भावनाको नयाँ बीउ पनि रोपेका छन्।
आज उनको बारीमा मेवा फलिरहेको छ। बोडीका लहरा फैलिएका छन्। खुर्सानी, टमाटर र काक्राले बारी हराभरा बनाएका छन्। तर ती फलफूल र तरकारीभन्दा सुन्दर कुरा उनको अनुहारमा देखिन्छ—आफ्नै माटोमा केही गर्न सकेको सन्तुष्टि।
विदेशको कमाइ र व्यापारको अनुभवपछि अन्ततः माटोमै फर्किएका रामप्रसाद भन्छन—आनन्द र शान्तिका लागि कृषि नै उत्तम रहेछ।’
सायद यही एउटा वाक्यमा उनको सम्पूर्ण यात्रा अटाएको छ—
परदेशले उनलाई कमाउन सिकायो, व्यापारले चल्न सिकायो, तर माटोले उनलाई बाँच्न सिकायो।


