स्वास्थ्य मन्त्री घिमिरेद्वारा रामपुर अस्पतालको निरीक्षण, सेवा सुधार र गुणस्तर अभिवृद्धिमा जोड

बोली खबर   २०८३-०४-१४

पाल्पा, साउन १४ – लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय रामजी प्रसाद घिमिरेले रामपुर अस्पतालको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। बुधबार सम्पन्न निरीक्षणमा लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा तथा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमती दुर्गा लक्ष्मी श्रेष्ठको समेत सहभागिता रहेको थियो।

रामपुर अस्पताल पुग्नुभएका विशिष्ट अतिथिहरूलाई अस्पताल परिवारले स्वागत तथा सम्मान गरेको थियो। त्यसपछि अस्पतालका विभिन्न सेवा कक्ष, आकस्मिक सेवा, बहिरङ्ग सेवा, प्रयोगशाला, फार्मेसी, प्रसूति सेवा तथा अन्य स्वास्थ्य सेवा प्रवाहका गतिविधिको स्थलगत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा अस्पतालको भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति, उपकरणको अवस्था, सेवा प्रवाह, बिरामीले पाउने सुविधा तथा स्वास्थ्य सेवाको समग्र अवस्थाबारे जानकारी लिइएको थियो।

अस्पताल प्रशासनसँग भएको छलफलमा अस्पतालले हाल प्रदान गरिरहेको सेवा, भोग्दै आएका चुनौती, जनशक्ति व्यवस्थापन, आवश्यक पूर्वाधार विस्तार तथा आगामी योजनाका विषयमा समेत विस्तृत रूपमा जानकारी गराइएको थियो। सो अवसरमा स्वास्थ्य मन्त्री घिमिरेले नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अस्पतालको सेवा विस्तारसँगै आवश्यक पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। नगर प्रमुख रमणबहादुर थापाले स्थानीय सरकार पनि अस्पतालको विकास र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर सहकार्य गर्दै आएको बताउनुभयो।

निरीक्षणका क्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रीमती दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालको समग्र अवस्थाबारे चासो व्यक्त गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव तथा रचनात्मक परामर्श दिनुभएको थियो। उहाँले स्वास्थ्य संस्थाहरूमा सुशासन, सेवा गुणस्तर र जनमुखी स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

अस्पताल प्रशासनले उच्चस्तरीय टोलीबाट प्राप्त सुझाव, मार्गदर्शन तथा परामर्शलाई कार्यान्वयन गर्दै अस्पतालको सेवा सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणमा थप सक्रियताका साथ अघि बढ्ने जनाएको छ। अस्पतालका अनुसार यस प्रकारको निरीक्षण तथा अनुगमनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा प्रभावकारिता र नागरिकको विश्वास अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

रामपुर अस्पतालले निरीक्षण तथा अनुगमनका लागि अस्पताल पुग्नुभएका स्वास्थ्य मन्त्री, प्रदेश सभाका समितिका सभापति, नगर प्रमुख, स्वास्थ्य सचिव तथा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ। छलफल तथा अन्तर्कृया कायक्रममा नर्सिङ अधिकृत ममता रेग्मिको स्वागत एवं अस्पताल बिकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको थियो भने पोस्टमाटम कक्ष उद्घाटन समेत गरीएको छ ।