रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ स्थित ज्याग्दी सामुदायिक वनभित्र रहेको ज्याग्दी पार्क यतिबेला पर्यावरण संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक विकासको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ। हरियाली वन क्षेत्रको बीचमा अवस्थित पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले विभिन्न पूर्वाधार निर्माणका कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन्।
हाल पार्क क्षेत्रमा लुम्बिनी प्रदेश सरकारको लगानीमा पैदलमार्ग (फुटपाथ) निर्माण कार्य भइरहेको छ। कालीगण्डकी नदी क्षेत्रबाट पार्कसम्म सहज पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त पैदलमार्गले पर्यटकलाई वन क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै भ्रमण गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
ज्याग्दि पार्कको सुरुआत तत्कालीन वडा अध्यक्ष हुमनाथ न्यौपानेको कार्यकालमा भएको हो। आर्थिक वर्ष २०७५/०७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त बजेटमार्फत पार्क निर्माणको अवधारणा अघि बढाइएको थियो। सुरुवाती चरणमा सामान्य संरचनाबाट सुरु भएको पार्क अहिले विस्तार हुँदै रामपुर क्षेत्रकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।
एक समय सामान्य वन क्षेत्रका रूपमा रहेको स्थान अहिले हरियाली वातावरण, व्यवस्थित संरचना तथा मनोरम प्राकृतिक दृश्यका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। पार्क परिसरमा बालबालिकाका लागि पिङलगायत मनोरञ्जनका सामग्री, विश्रामस्थल, शौचालय तथा अन्य आवश्यक संरचनाहरू निर्माण गरिएका छन्, जसले परिवारसहित घुम्न आउने आगन्तुकलाई थप सहजता प्रदान गरेको छ।
कालीगण्डकी नदीको किनारमा अवस्थित पार्कको अर्को विशेषता भनेको यसको प्राकृतिक शान्त वातावरण हो। पार्कको हरियाली वातावरणसँगै तल निरन्तर बगिरहेको कालीगण्डकीको कलकल ध्वनिले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ। वनको शीतलता, नदीको मधुर आवाज र खुला वातावरणले पार्कलाई विश्राम, मनोरञ्जन तथा प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि उपयुक्त गन्तव्य बनाएको छ।
पछिल्लो समय विशेषगरी सार्वजनिक बिदा, शनिबार तथा अन्य अवसरहरूमा यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। परिवारका सदस्य, बालबालिका तथा साथीभाइसँग पार्क पुगेर रमाउने, तस्बिर खिच्ने, वन क्षेत्रको अवलोकन गर्ने तथा प्राकृतिक वातावरणमा समय बिताउनेहरूको चहलपहल बढेको देखिन्छ। यसले रामपुर क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
पार्क परिसरमा चिडियाघर सञ्चालनका लागि आवश्यक संरचनासमेत निर्माण गरिएका छन्। विभिन्न वन्यजन्तु राख्न मिल्ने घेराबारा तथा संरचना तयार भइसकेका छन् भने आवश्यक व्यवस्थापनमा रामपुर नगरपालिकाले सहयोग गरिरहेको छ। यसले वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा र पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
ज्याग्दि सामुदायिक वन तथा जग्दी पार्क निर्माण समितिका सहसचिव रामचन्द्र ढुङ्गानाले पार्क विकासका सम्पूर्ण गतिविधि वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको बताउनुभयो। वन क्षेत्रको मौलिकता जोगाउँदै जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ पार्कको विकास भइरहेको उहाँको भनाइ छ।
उहाँका अनुसार प्राकृतिक सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई वातावरणीय चेतना प्रवाह गर्ने उद्देश्यले पनि पार्कलाई योजनाबद्ध रूपमा विकास गरिँदै लगिएको छ।
यसैगरी ज्याग्दि पार्क व्यवस्थापन तथा निर्माण समितिका उपाध्यक्ष कृष्ण लम्सालले चालु आर्थिक वर्षमा प्राप्त बजेट तथा सञ्चालन भइरहेका पूर्वाधार निर्माणका योजनाबारे जानकारी दिनुभयो। उहाँले प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायको सहयोगमा पार्कलाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो।
पार्कको विकाससँगै स्थानीय स्तरमा आर्थिक गतिविधिसमेत बढ्न थालेको छ। पर्यटकको आगमन बढ्दै जाँदा पार्क आसपास साना व्यापार व्यवसाय सञ्चालन हुन थालेका छन्। विशेषगरी चटपटे, पानीपुरी, चिया–नास्ता तथा अन्य स्थानीय परिकार बिक्री गर्ने व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन थालेका छन्। यसले स्थानीयलाई आयआर्जनका नयाँ अवसरसमेत सिर्जना गरेको छ।
स्थानीयवासी बुद्धि प्रकाश पंगेनीले ज्याग्दि पार्कले क्षेत्रको पहिचान बढाउनुका साथै स्थानीयको आयआर्जन र आर्थिक गतिविधिमा समेत सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। उहाँका अनुसार पार्कको विकाससँगै स्थानीय युवाका लागि स्वरोजगार तथा उद्यमशीलताका अवसरसमेत विस्तार हुँदै गएका छन्।
वन संरक्षण, पर्यटन विकास र स्थानीय आर्थिक समृद्धिलाई एकैसाथ अगाडि बढाउने उद्देश्यसहित निर्माण गरिएको जग्दी पार्क अहिले रामपुर नगरपालिकाको गौरवको परियोजनाका रूपमा स्थापित हुँदै गएको छ। हरियाली वातावरण, कालीगण्डकीको मनमोहक दृश्य, निर्माणाधीन पैदलमार्ग, चिडियाघरका संरचना तथा बढ्दो आन्तरिक पर्यटकको आकर्षणले आगामी दिनमा यस क्षेत्रलाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास स्थानीयवासी तथा सरोकारवालाहरूले व्यक्त गरेका छन्।


